म्याग्दीमा यस वर्ष मध्य असार सकिनै लाग्दा जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ । रोपाइँ गर्ने समयमा पानी नपर्नु, किसानले समयमै मल–बिउ नपाउनु र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको हो ।

समयमै किसानले रोपाइँ गर्नका लागि मल नपाउनु र पर्याप्त पानी नपर्दा अहिलेसम्म जिल्लाभर २५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । असार महिनाको आधा समय सकिनै लाग्दा पनि अहिलेसम्म रोपाइँ गर्ने मल–बिउ नपाउनु र मनसुनी वर्षा हुन नसक्दा किसान चिन्तित बनेका छन् । यस वर्ष समयमै पानी नपर्दा धान रोपाइँ गर्न ढिला भएको बेनी नगरपालिका ५ चिप्लेटीका किसान लक्ष्मण केसीले गुनासो गर्नुभयो ।

म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ । त्यसमध्ये जिल्लामा तीन हजार आठ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा गएको वर्ष १३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

युवा जनशक्ति पलायन हुनु, धान खेती हुने ठाउँ खण्डीकरण तथा जग्गा प्लटिङ गरिनु र बिउ–मलका लागि भारतको परनिर्भर रहनुपर्ने बाध्यताका कारण धान उत्पादनमा कमी आउन थालेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन सकेमा र बिस्तारै चैते धानको समेत उत्पादन वृद्धि गर्नसके जिल्लामा धान उत्पादन बढाउन सकिने उहाँको भनाइ छ । यसबाट मसिना चामलको आयात घटाउन र मध्यम तथा मोटा चामलको निर्यात बढाउन सकिने कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ । किसानले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाइ धान रोप्दै आएका छन् । म्याग्दीको पाखो बारीमा घैया धान रोप्ने चलन पनि छ ।

म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रमा धानखेती हुँदै आएको छ । यी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् । हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान खेती हुँदैन ।

कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् । म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् ।

युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा देश, विदेश तथा सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभाव देखिएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले पनि कृषिमा यान्त्रीकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याएपछि पछिल्लो पटक खेत जोत्नका लागि ट्र्याक्टरको प्रयोगमा भने किसानको आकर्षण बढ्दै गएको छ ।

यसैबीच ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नारासहित आज (बुधवार) म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ को अवसरमा बेनी नगपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले खेतमा धान रोपेर दिवस मनाइएको हो । खाली तथा बाँझो रहेका जग्गा जमिनको प्रयोग गरेर कृषि उत्पादन बढाउन नगरपालिकामार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

Leave a Reply