कालीगण्डकी र म्याग्दीखोलामा निर्माणाधीन तटबन्धको संसदीय समितिद्वारा स्थलगत अनुगमन, तटबन्ध निर्माणको काम सन्तोषजनक रहेको समितिको ठहरव्यवस्थापिका संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन र निरीक्षण भएको छ ।

आज (शुक्रवार) उक्त समितिद्वारा म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्नका लागि कालीगण्डकी नदी र म्याग्दीखोलाको किनारमा निर्माणाधीन तटबन्धको अनुगमन गरिएको हो ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजनमा समितिका सदस्यहरु घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ, लालकाजी गुरुङ तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्माण कम्पनीका प्रोप्राइटर राजकुमार श्रेष्ठसहितको टोलीले नदी तटबन्धनको अनुगमन गरेको जनाएको छ ।

उक्त टोलीले बेनीबजार र गलेश्वर बजार संरक्षण गर्नका लागि विभिन्न चार ठाउँमा निर्माणाधीन नदी तटबन्धको अनुगमन गरिएको जानकारी दिएको छ । संसदीय समितिसहितको टोलीले बेनीको कालीपुल, म्याग्दी जेसीजको भवन अगाडि, मङ्गलाघाट र गलेश्वर क्षेत्रमा नदी तटबन्धका लागि निर्माणाधीन कामको अनुगमन गरिएको प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभयो ।

गएको चैत महिनादेखि तटबन्ध निर्माणको काम सुरु गरिएकोमध्ये पहिलो चरणको हालसम्म झण्डै ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीको भनाइ छ ।रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले रौतह बि एण्ड बि काठमाडौंमार्फत माउण्ट धौलागिरि कन्टक्सन प्रालि म्याग्दीले नदी तटबन्ध निर्माणको कामको जिम्मेवारी लिएको छ ।

२ वर्षका लागि नौ करोड ४५ लाख रुपैयाँ बढीको लागतमा नदी किनारमा तटबन्ध गर्नका लागि निर्माणको जिम्मेवारी आफूले पाएकोमा अहिले नियमित रुपमा काम भैरहेको माउण्ट धौलागिरि कन्टक्सन प्रालिका प्रोप्राइटर राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माणको काम भैरहेको क्षेत्रमा दैनिक ५० जना मजदुरहरु परिचालन भएका छन् । जोखिमपूर्ण सदरमुकाम संरक्षण गर्ने कार्यक्रमअनुसार आफ्नो पहलमा गत वर्षदेखि बहुवर्षे ठेक्कामार्फत नदीमा तटबन्ध निर्माणको काम सुरु भएकोमा सन्तोषजनक रहेको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।

निर्माणाधीन नदी किनारमा तटबन्ध निर्माणतर्फ ग्याबिन जाली भर्ने र कङ्क्रिट वाल लगाउने कामहरु भैरहेका छन् । ंबेनीको मंगलाघाट क्षेत्रमा उपभोक्ता समिति र ठेक्कामार्फत ८० मिटर ग्याबिन जाली लगाइएको छ भने गलेश्वरमा उपभोक्ता समितिमार्फत ३ सय २० मिटर लामो ग्याबिन जाली लगाइएको छ ।

यसैगरी कालीपुल क्षेत्रमा ठेक्कामार्फत ८० मिटर कङ्क्रिट वाल लगाइएको छ भने जेसीज भवनमूनि उपभोक्ता समितिबाट २ सय ६६ मिटर ग्याबिन जाली लगाइएको छ । त्यस्तै रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत कालीपुल बसपार्कमा रेलिङ निर्माण भएको छ भने मानिस हिँडडुल गर्नका लागि व्लक राखेर तीन मिटरको फुटपाट निर्माण गरिनेछ ।

यसअघि संसदीय समितिको टोलीले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको क्रममा भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण भैरहेको राहुघाट जलविद्युत आयोजनाको हालसम्म ४५ प्रतिशत भोतिक प्रगति देखिएको समितिका सदस्य एवं मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बताउनुभयो । आयोजना निर्माणमा ८० प्रतिशत भारत र २० प्रतिशत नेपालको मजदुर तथा निर्माण सामग्री प्रयोग भएको छ ।

Leave a Reply