वर्षायामको समय । जताततै हरियाली छाएको छ । ग्रीष्म ऋतुको समय गर्मी हपक्क बढेको छ । ग्रीष्मकालीन समयमा गर्मीको साथसाथै हरियाली समेत बढ्दै गएकाे छ। हिजाेआजकाे समयमा छिनछिनमा मौसम परिवर्तन भइरहन्छ । बिहान सफा देखिएको मौसम उत्तिखेरै बदलिन्छ, सिमसिम पानी पर्छ र छोड्छ । बादल भने डाँडावारि र पारि लुकामारी खेलिरहन्छ ।

यही बादलुको घुम्टोभित्र लुकेर बसेको छ, बराहताल र निस्कोट गाउँ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ नम्बर वडामा पर्ने निस्कोट गाउँ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । वसन्तुु ऋतुसँगै पालुवा पलाएर हरियाली बढ्दै गएकाे छ । भिरालो, अग्ला डाँडा र पहाड तथा खोँचमा छरिएर बसेको निस्कोट गाउँको शिरमा बराहताल पर्दछ ।

घना वन जङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । हेर्दा निकै आकर्षक, सुन्दर अनि मनमोहक लाग्ने बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखा नै अगाडि सेताम्मे हिमाल देखिने निस्कोटको बराहताल पर्यटकहरुको पर्खाइमा छ । मौसम खुलेको समयमा देखिने हिमालको दृश्यसँगै बराहतालमा पौडी खेल्न मिल्ने यसको थप आकर्षण हो ।

झन्डै २ रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गूर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने निस्कोट माध्यमिक विद्यालयकी शिक्षक रामकुमारी पुनले जानकारी दिनुभयो ।

बराहतालमा वन जङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छायाँ) समेत आकर्षक अनि मनमोहक देखिन्छ । हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई रोमाञ्चित बनाउँछ ।

बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर थुप्रै निस्काेट गाउँमा पुग्ने गरेका छन् । बराहतालको छेउ छाउमा पुगेर ताल र वरिपरिको दृश्य हेर्न पाउँदा थकान लागेको भए पनि उतिखेरै बिर्साइदिन्छ । निस्कोट गाउँमा कार्यक्रम लिएर तथा अन्य कामले जानेहरु एकैछिन भए पनि बराहताल पुगेर रमाउने गर्छन् ।

निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ ।

छिमेकी जिल्ला बाग्लुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्त्वको बराहतालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । ताल नजिकै एउटा तामाको घैँटो (चिन्नो) समेत रहेको छ । स्थानीयका अनुसार घैँटो राणाशासनकालमा लुकाइएको हुँदा पछि ढुङ्गा फुटाउँदा भेटिएकाले संरक्षण गरेर राखिएको छ ।

निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख (पुरानो भाका) यानीमाया, सुनीमाया, सालैजो जस्ता गीतहरु सुन्न पाइन्छ ।

गाउँमा आउने पर्यटक र लाहुरेहरुलाई स्थानीय सिद्ध प्रगतिशील आमा समूहले सांस्कृतिक कार्यक्रम गरेर स्वागत, सत्कार गर्ने गर्दछन् । समुद्री सतहदेखि २१ सय मिटरको उचाइमा रहेको निस्कोटमा रैथाने खाद्यान्न बालीहरु मकै, कोदो, गहुँ, जौ आदिको उत्पादन हुन्छ ।

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटकहरु भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले निस्कोट पुगेर बराहताल र गाउँको भ्रमण गर्न पाउँदा आफूलाई एकदमै रमाइलो लागेको अनुभव सुनाउनुभयो ।

यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी जिल्लाको सिमानामा पुग्न पदमार्ग बनाएको थियो । मालिका गाउँपालिकाले भने निस्कोट गाउँदेखि बराहतालसम्म पर्यटन पदमार्ग निर्माण तथा ताल परिसरमा प्रतिक्षालय निर्माण गरिदिएको छ ।

सडकको पहुँच विस्तारसँगै यातायात, सञ्चार र विद्युतको सुविधा पुगेपछि निस्कोट गाउँको रुप फेरिएको छ । बराहताल अवलोकन गर्न म्याग्दीको बेनी–दरबाङ हुँदै निस्कोट गाउँ पुगेपछि तालमा जान सकिन्छ ।

ताल आसपासमा पर्यटनलक्षित संरचनाहरुको निर्माण गर्ने तथा तालको उचित संरक्षण, विकास र प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा स्वदेशी र विदेशी पर्यटकहरुको आगमन बढाउन सकिन्छ । पर्यटकीय बराहतालको पर्यटन प्रवर्द्धन गर्नका लागि वडा कार्यालय र गाउँपालिकाबाट आवश्यक पहल गरिने निस्कोटका वडा अध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो।

Leave a Reply