जिल्लामा योगाभ्यासप्रति सर्वसाधारण आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगभ्यासमा आकर्षण बढेको हो। सदरमुकाम बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन हुन थालेपछि योगप्रति सर्वसाधारणको रुचि बढेको हो।

बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गर्छन्। बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन्।

बेनी नगरपालिका–७ की रचना पुनले अपच, रुघा  र रक्तचापको समस्या नियमित योग गर्न थालेपछि समाधान भएको अनुभव सुनाइन्। ‘योग अभ्याससँगै स्वास्थ्यलाई हानि नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ,’ उनले भनिन्।

बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतमले व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बताए। ‘दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु,’ उनले भने, ‘योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महशुस गरेको छु।’ उनले पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आएका छन्।

नविन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु नविन जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगाएतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो। छोटो अवधिका लागि आयोजना  भएको सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।

योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताए। ‘गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,’ उनले भने, ‘आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ।’

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ। मन्दिर, विभिन्न संघ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ। सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन्।

बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो। योग गर्नेको संख्या धेरै भएकाले पूर्वाधार अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए।

Leave a Reply