मालिका गाउँपालिकाको कर्मचारीलाई सेवा प्रवाह सम्बन्धि तालिम

0
13

स्थानीय तहको सेवा प्रवाहमा चुनौती, सामना र समाधानका तरिकासम्बन्धी विषयमा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको छ । ‘मितव्ययी एवं छरितो सेवा प्रवाहका चुनौती, सामना र समाधानका तरिकाहरु भन्ने विषयमा कर्मचारीहरुलाई लक्षित गरेर सञ्चालित तालिम हिँजो (शनिवार) सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा दरबाङमा तालिम सञ्चालन गरिएको थियो ।

दुई दिनसम्म चलेको तालिममा मितव्ययी सेवा प्रवाह, पारदर्शीता तथा क्षमता विकास, स्थानीय शासन, सुशासन र प्रशासनिक अन्तरसम्बन्ध, छिटोछरितो सेवा प्रवाह, मितव्ययीता कायम गर्ने विधिहरु, कार्यालय खर्च व्यवस्थापन र बेरुजु न्युनीकरण, विकास कार्यमा कर्मचारीको संलग्नता तथा सेवा प्रवाहमा पूर्ण गुणस्तर, समस्या एवं समाधानका तरिकाहरु, नागरिकता सिफारिसमा सजगता, सूचना र सञ्चारको महत्वको विषयमा सहजीकरण गरिएको थियो ।

शुक्रवार र शनिवार चलेको तालिमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, बेनी नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मा, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, योजना अधिकृत सोमबहादुर केसी, लेखापाल सागर पौडेल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य कृष्णबहादुर जिसीले सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख धर्मराज पौडेलले समुदायमा सरकारी वकिल कार्यक्रमको विषयमा समेत सहजीकरण गर्नुभएको थियो । तालिमको समापन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले तालिमले कर्मचारीहरुमा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा कार्यसम्पादन चुस्त, दुरुस्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी धर्मकान्त पौडेलले तालिमको अनुभव सुनाउनुभएको थियो । प्रजिअ रानाले उद्घाटन गरेको तालिममा मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरेर ८५ जनाको सहभागिता रहेको थियो ।