म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनमा सुरू भएको प्रतियोगिता मंगलबार सम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यालयस्तरको प्रतियोगिताले खेलाडीको पहिचान हुने बताए । उनले जिल्लाभरका खेलाडीहरूका पहिचान गरी थप सहयोग गर्ने स्थानीय तहले समेत चासो देखाउनुपर्नेमा जोड दिए ।

विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान भई प्रदेश र राष्ट्रिय स्तरमा पुग्ने अवसर पाउने उनको भनाई थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगरप्रमुख केसीले आगामी कात्तिक मंसिरमा बेनीमा नगर स्तरीय रनिङ शिल्ड सञ्चालन गरिने बताए । कोरोना महामारीका कारण यसअघिका दुई वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन् ।

राष्ट्रपति कप प्रतियोगितामा विजेता विद्यालयलाई ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ । असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताए ।

पालिकाहरुले छनौट गरेर पठाएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर विभिन्न विधामा खेलाडी र प्रशिक्षक गरि १११ जनालाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने अध्यक्ष केसीले बताए । छात्र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु बिधामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगितामा अनुमानित खर्च ५ लाख रुपैयाँ कार्यालयले जनाएको छ ।

 

Leave a Reply