म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता समीर किसानले बैदेशिक रोजगारमा गएकी आमा मायाँदेवीलाई पहिलो खवर सुनाए। घरेलु कामदारका रूपमा ओमनमा रहेकी मायाँदेवीले स्वर्ण पदक जितेको खवर सुन्दा वित्तिकै रोईन् । सन्तानको भविष्य सुनिश्चित गर्न र परिवारको खुसीका लागि खाडी मुलुकमा पुगेकी मायाँदेवीले खुसीको आँसु भन्दै छोरालाई थप सफलताको शुभकामना समेत दिईन्।

कालिपुलको कवर्ड हलबाट आमालाई स्वर्णपदक जितेको सन्देश सुनाएका किसानले घरमा पुगेर खेलका बारेमा जानकारी गराउँदा आमा पटक–पटक भाबुक भएको बताए ।‘मैले पदक जित्दा वित्तिकै आमालाई सम्झिएको थिए,‘हाम्रो खुसीका लाागि आमा विदेश जानुभएको छ’ किसानले भने ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिरामी बुबाको उपचार,शिक्षादीक्षाका लागि बाध्य भएर आमा विदेशमा जानुपरेको बताउँदै दुखःपीडाका बिचमा खेलमार्फत आमालाई पदक उपहार दिएको बताए । मार्सल आर्टस् अन्तरगत पर्ने उसु विधामा आफ्नो रुचीलाई आमाले निरन्तर साथ दिएकै कारण स्वर्णपदक जित्न सफल भएको बताए ।

बेनी नगरपालिका–६,खैरेनीका किसानले पहिलोपटक जामुनाखर्क माविलाई मार्सलआर्टस् विधामा स्वर्णपदक समेत दिलाए।बेनीस्थित बालमन्दिर आधारभुत विद्यालयलाई गएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुबाटै पदक दिलाउन सफल भएका किसानले राष्ट्रियस्तरका खेलहरूमा समेत पुग्ने लक्ष्य रहेको बताए।‘आमा घर आउँदा वित्तिकै आफूले पाएको मेडल लगाइदिन्छु,‘अबका खेलहरू आमाकै अगाडी खेल्ने धोको छ’ किसानले भने ।

उनले निरन्तर मेहनत र संघर्ष गरेमा अझै राम्रो खेल देखाउन सक्ने बताए ।नेपालबाट विदेशीसँग उसु खेल्ने लक्ष्य भएकाले निशुल्क तालिम सहितको अवसर पाएमा उत्कृष्ट खेल देखाउन सक्ने बताए । गएको जेठ १५ गते उपचारको क्रममा बुबाको मृत्यु भएपछि घरमा दुई दिदीसँगै रहेका समीरले उच्च शिक्षासँगै खेललाई समेत अगाडी बढाउने बताए । म्याग्दी उसु संघका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले उचित अवसर पाए समीरले उसुबाट देशकै नाम राख्न सक्ने बताए ।

जन्डिसको उपचारको क्रममा बुबाको मृत्यु भएपछि काजकृया सकेर नियमित अभ्यासमा जुटेको समीरकै प्रशिक्षणबाट यसपटक प्रमिसा बानियाँ र सज्जन कार्कीले स्वर्ण पदक जितेका छन् ।बेनीमा नियमित रूपमा उसु सिकाउने प्रशिक्षक नहुदाँ समीरले नै सिकाएर थप दुई खेलाडीले स्वर्ण जितेपछि उसु संघ समेत उत्साहित भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २० र २१ गतेसम्म हुने प्रतियोगिताका अन्य विधाहरूमा खेल जारी छ ।

Leave a Reply