कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी रहेछन्। दोधारमा परिन् मनकुमारी। जाऊँ कहाँ जाऊँ? गुहार मागूँ कसलाई? कोखमा बच्चा थियो। मनकुमारीले अठोट गरिन्- जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ।
त्यसपछि सुरू भयो उनकोे संघर्षको कथा। के गरिनन् उनले?मनकुमारीले संयोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहोर संकलन गर्ने काम पाइन्। घिन मानिनन्, अल्छी गरिनन् काममा।
सबैलाई मीठो बोली र कामले लोभ्याइन्। एकातिर कोखमा बच्चा थियो। अर्कोतिर कामको चटारो थियो। हरेस नखाइकन निरन्तर काममा लागिन्, छोरीको जन्म भयो। नाम राखिन् सुष्मा परियार।
हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक कास्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन्। उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन्। अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन्।
सुष्मा त्यसै सफल भएकी भने होइनन्। उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ। एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था कमजोर।
‘दस वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो। अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु। महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?’ गहभरि आँसु झार्दै मनकुमारीेले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौँपटक कापी, कलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन।’
उनले अगाडी थपिन्, ‘अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगे। छोरी र साथीहरूलाई बधाई दिएँ। आज यसको सफलताले सबै दुःख बिर्सिएको छु। सर-मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु, आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ’, मनकुमारीले भनिन्।
गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेको प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले बताए।
‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेका थिइन्। राष्ट्रपति कप हुने भन्दाबित्तिकै आँखा अगाडि उनको तस्बिर झलझली नाँच्यो। नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्।’
विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले सुष्माको प्रदर्शनले खुसी भएको बताए। उनले विद्यालयको नाम राखेकी र विद्यालयले गर्नुपर्ने सहयोगमा कमी हुन नदिने बताए।
अहिलेको प्रदर्शनबाट खुसी भएको सुष्माले बताइन्।
‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ। विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ। यही सपना बोकेर पोखरा जानेछु’ उनले भनिन्, ‘आमाको सपना पूरा गर्नेछु। मेरा पदक आमाबुबालाई समर्पण छ।’
अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ। सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए।