पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । निस्कोट गाउँमा पुगेपछि घना वन जङ्गलको बीच भाग र केही मानव वस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ ।

हेर्दा निकै आकर्षक, सुन्दर अनि मनमोहक लाग्ने बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँख्खै अगाडि सेताम्मे हिमालहरुका दृश्य नियाल्न पाइने निस्कोटको बराहताल पर्यटकहरुको पर्खाइमा छ । झण्डै २ रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । बराहतालमा वन जङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) समेत आकर्षक रुपमा देखिने निस्कोट माध्यमिक विद्यालयकी शिक्षक रामकुमारी पुनले बताइन् ।

हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जोकोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् ।

निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बीच भागमा ताल रहेपनि त्यसमा कुनै पातपतिङ्गरहरु हुँदैनन् । पातपतिङ्गर झरेमा चराले सफा गर्छन् ।

बराहतालमा बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक दृश्यहरु देखिन्छन् ।

निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजो जस्ता गीतहरु सुन्न पाइन्छ । बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटकहरु भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी जिल्लाको सिमानामा पुग्न पदमार्ग बनाएको थियो ।

पछि गाउँपालिका स्थापना भएपछि मालिका गाउँपालिकाले निस्कोट गाउँदेखि बराहतालसम्म पर्यटन पदमार्ग निर्माण गर्नुका साथै ताल परिसरमा प्रतिक्षालय बनाइदिएको छ । बराहतालको पर्यटन प्रवद्र्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले बताए ।

Leave a Reply