पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ ओखरबोट र बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको सीमानामा पर्ने जंगलको बिचमा जलहाँसको क्रिडास्थल मानिने तीनवटा तालहरु प्रचारप्रसार र सरोकारवालाहरुको वेवास्ताका कारण ओझेलमा परेका छन्।

जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ लमतन्न फैलिएका पुठा ताल,दह ताल र सरबारी तालमा पानीको मुहान कतै देखिदैन । तर,तीनवटै तालहरु खडेरी र वर्षामा पनि सधैं एकनासका रहने गरेका र तालमा जलहाँस आएर क्रिडा गर्ने र तालको सरसफाइ पनि जलहाँसले नै गर्ने गरेका स्थानीयले बताएका छन् ।

ओखरबोटका स्थानीय चाम पुनले दिएको जानकारी अनुसार ती जलहाँसहरु दिनमा देखिदैनन् ।तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथीले जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिक स्थल मालिका जाने बाटोको पश्मितिर रहेको सरबारी तालमा पुगेर अलप हुने गर्दछन् ।

अहिलेसम्म यी तीनवटै तालको बारेमा ओखरबोटका सबै स्थानीयलाई पनि जानकारी नभएको र यहाँ बाहिरी मानिसहरुको पाइला नपुगेकाले यी तीनवटै ताललाई स्थानीयले भर्जिन (कुमारी) ताल नामाकरण गरेका छन् । ओखरबोटका स्थानीय युवा नविन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ गएर नदेखेको बताउँदै तालको बारेमा सुनेका किवंदन्ति वा मिथकहरु पनि रोचक रहका जानकारी दिनुभयो ।स्थानीय दलबहादुर घर्तीले दिएको जानकारी अनुसार ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिव १ घण्टा लाग्छ ।

त्यहाँबाट ४५ मिनेटमा दह ताल र दहतालबाट १ घण्टा घना जंगल छिचोलेर हिडेपछि सरबारी ताल पुग्न सकिन्छ । जंगलको बिच भागमा रहेका तीनवटै तालहरुमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टा भन्दा बढीको समय लाग्ने स्थानीयको भनाइरहेको छ । यी तीनवटै तालहरु करिब करिव समान दुरीमा नै रहनु, तीनवटै तालमा जलहाँस पुग्नु र क्रिडा गरेर सरसफाइ गर्नु, कुनै पनि तालमा पानीको मूल नहुनू तर पानी भने सधैं एकनासको रहीरहनु आश्चर्य लाग्ने विषय भएको स्थानीय पाका व्यक्तिहरुको भनाइ रहेको छ ।

स्थानीय चेमबहादुर पुनका अनुसार यी तीनवटै तालहरु अहिलेसम्म धेरैको नजरमा पर्न नसकेका कारण कुनै पनि संचारमाध्यममा आएका छैनन् । तालहरुको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटकहरु यहाँ आउने बलियो संभावना रहेको छ ।

 

Leave a Reply