---Advertisement---

मंगला शिक्षा क्याम्पसले भर्नासहित मासिक शुल्क नलिने

By केशब कँडेल\बावियाचौर
On: December 15, 2022 12:46 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले असार मसान्तभित्र भर्ना हुने विद्यार्थीलाई भर्नासहित ४ बर्षसम्म मासिक शीर्षकमा शुल्क नलिने भएको छ ।

भर्ना अभियान सञ्चालन गरिरहेको क्याम्पसले घरदैलो अभियानमार्फत प्राप्त सुझाव र आर्थिक विपन्न विद्यार्थीको राहतका लागि भर्ना शुल्क ६ हजार र मासिक शुल्क ६ सय निःशुल्क गर्ने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।‘विपन्न विद्यार्थीलाई निशुल्क नै शिक्षा दिन्छौ,‘हरेक टोलसम्म पुगेर क्याम्पसको योजना सुनाउँदैछौ’ अध्यक्ष थापाले भन्नुभयो।

नयाँ भर्ना अभियानमा क्याम्पसले पालिका भित्रका सबै टोल तथा छिमेकी मालिका र धवलागिरी गाउँपालिकामा समेत अभियान सञ्चालन गरिरहेको छ । छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिकाबाट समेत विद्यार्थी भर्ना अभियानलाई प्रचारप्रसार गरिएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । क्याम्पसमा हाल १ सय ३० जना विद्यार्थी छन् । यसबर्षको अभियानमार्फत २ सय विद्यार्थी पुर्याउने लक्ष्य रहेको छ । क्याम्पसले विपन्न विद्यार्थीलाई छात्राबासमा लाग्ने शुल्क समेत निशुल्क गरेकाले विद्यार्थीलाई सहज भएको छ ।

जिल्लाको सदरमुकाम बाहिर रहेको क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउन वौद्धिक नेतृत्व र अनुन्धानमुलका कार्यहरू सहितका योजनामा क्याम्पसले काम गरिरहेको छ । भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी आवश्यक तयारीमा समेत जुटेको छ ।

हाल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १करोडबाट ८ कोठे भवन निर्माणधिन अवस्थामा रहेको छ। विश्व विद्यालय अनुदान आयोगले तोकेका मापदण्ड पूरा गर्न क्याम्पसको पूर्वाधार सहितका अन्य आवश्यकता जुटाउन खटिएको क्याम्पसलाई मंगला गाउँपालिकाले समेत उच्च प्राथमिकताका साथ बजेटमा सहयोग गरेको छ ।

 

केशब कँडेल\बावियाचौर