मुख्यमन्त्री र मन्त्रीले बा-आमाको नामको कोषमा बजेट हालेको विषयमा आलोचना भइरहँदा गण्डकी प्रदेशमा सांसदको अक्षयकोषलाई पनि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०७९-०८० को वार्षिक विकास कार्यक्रम (बजेट पुस्तिका)मा सरकारले राष्ट्रिय जनमोर्चाकाे संसदीय दलकी नेता पियारी थापा परिवारको गाउँमैत्री अक्षयकोष (जिमाक)लाई ७० लाख रुपैयाँ छुट्याएको हो ।

संघीयताको विरोध गर्ने पार्टी राष्ट्रिय जनमोर्चाकै नेताले प्रदेश सरकारको ढुकुटीबाट ७० लाख रुपैयाँ आफ्नो कोषको भवन बनाउन पारेकी हुन् । बागलुङको काठेखोला गाउँपालिका ४ तंग्राममा जिमाक सांस्कृतिक संग्रहालय भवन निर्माणाधीन छ । दुई छुट्टै शीर्षकमार्फत प्रदेश सरकारले निर्माणको अन्तिम चरणमा रहेको भवनलाई ७० लाख रुपैयाँ दिन लागेको हो ।

बागलुङका सञ्चारमाध्यमका अनुसार सांसद पियारी र हेमराज पुन (आश्रम)को विवाहमा २०६६ सालमा १० हजारबाट उक्त कोष सुरु भएको थियो । बजेट विनियोजन भएको गाउँमैत्री अक्षयकोष (जिमाक)को अध्यक्ष संस्था स्थापनादेखि नै सांसद पियारीका श्रीमान् हेमराज हुन् । संस्था २०६९ सालमा दर्ता भएको थियो । जिमाक सांस्कृतिक संग्राहलय भवन बनाउन भनेर एउटा शीर्षकमा ६० लाख र अर्को शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास कार्यालय बागलुङबाट खर्च गर्ने गरी खर्च शीर्षक नम्बर ३१११२ र ३११५९ मा गरेर ७० लाख रुपैयाँ दिइएको हो ।

Leave a Reply