पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्रे भएपनि यात्रुले अझै कच्ची सडक सरह भाडा तिर्न बाध्य छन् । बषौंदेखि भाडा समायोजन नभएको अवस्थामा यातायात ब्यवसायीले कालोपत्रे भएको सडकखण्डमा कच्ची सडक मनपरी भाडा असुल्दा समेत सरोकारवाला निकाय मौन बसेका छन् । सदरमुकाम बेनीदेखि १२ किलोमिटर पाँचसय मिटर दूरीको सडक कालोपत्रे भएको छ ।

कालोपत्रे भएको सडकखण्डमा प्रति किलोमिटर ५ रुपैयाँ भाडादर हुनुपर्ने प्रावधान रहेको छ । हाल बेनी–तातोपानी डेढ सय, बेनी–सिम २ सय र बेनी–दरबाङसम्म ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ । कालोपत्रे भएपछि बेनीदेखि तातोपानीसम्म करिब २० मिनेट र त्यहाँबाट सिम १० मिनेटमा सार्वजनिक यातायातमै पुगिन्छ ।

डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएपनि भाडा भने पुरानै कायम भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले समेत चासो देखाएको छैन् । प्रजिअ चिरञ्जीवि रानाले भाडादर कायम गर्ने विषयमा छलफल गर्ने तयारी भइरहेको बताउनुभयो । ‘कालोपत्रे सडकको मापदण्ड अनुसारकै भाडा कायम हुन्छ’ प्रजिअ रानाले बेनीअनलाइनलाई भन्नुभयो । बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो ।

Leave a Reply