म्याग्दीका एक १०५ वर्षीय वृद्धको दैनिकी देख्दा अहिलेका युवा पुस्ता छक्कै पर्छन्। धवलागिरी गाउँपालिका-४, बगरका १०५ वर्षीय पवबहादुर पुर्जा अझैपनि उकालो बाटो ठमठम हिँडेर जंगलमा पुग्छन्। जंगलबाट निगालोको भारी ल्याएर आँगनमा बिसाउन नपाउँदै हँसिया निकालेर चोया बनाउन सुरु गर्छन्।
चोयाबाट भकारी, मान्द्रो, डोको लगायत घरायसी कृषि सामाग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहेका छन्। खानपान र ऐयासी जीवनशैलीका कारण अहिलेका मानिसहरु ६०/६५ वर्षको उमेर पार गरिसकेपछि आफू वृद्ध भएको भन्ठानी शारीरिक र मानसिक रुपमा कमजोर महशुस गर्छन्।
सरकारी सेवा वा अन्य रोजगारीबाट सेवा निवृत हुन्छन्। रोजगार वा पेन्सन नहुनेहरु सरकारले दिने वृद्धभत्ताको भरमा जीवनको उत्तरार्द्ध विताउन वाध्य हुन्छन् तर पवबहादुरको भने दैनिकी फरक छ।बिहान ५ बजे उठेर नित्यकर्म सकेपछि एक बटुको घरायसी जाँड तनक्क पार्छन र आँगनमा निस्केर मान्द्रा, भकारी, डाेका आदि बुन्न थाल्दछन्।
बिहान १० बजे खाना खाएपछि उनी जंगलतिर लाग्छन् र चोयाका लागि निगालाको भारी बोकेर घर फर्किन्छन्। त्यसपछि पुनः चोया बनाउनमा नै व्यस्त हुने गरेका उनका नाति हेमबहादुर पुर्जा बताउँछन्।
नाति पुर्जाका अनुसार पवबहादुरलाई अहिलेसम्म सामान्य रुघाखोकी बाहेक अरु जटिल कुनै रोग छैन। सधैँ स्वस्थ र प्रसन्न देखिने हँसिला बाजेलाई देख्दा आफूलाई पनि काम गर्ने जाँगर आउने नाति हेमबहादुरले बताए।पवबहादुरले आफ्नो जीवन जंगल र खर्कमा नै वितेकाले यसैमा आनन्दलाग्ने बताए। उनले भने ‘शरीर चल्छ, त्यसैले काम गर्छु, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?’