मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले आज (बुधवार) आफ्नो २३औं स्थापना दिवस फलफुल वितरण कार्यक्रम गरेर मनाएको छ ।

एलायन्स जिल्ला कार्यसमितिको आयोजना, संगम म्याग्दी र मिलन म्याग्दीको सहयोगमा म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो ।

नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत ११ जना बालबालिकाहरुलाई मौसम अनुकुल हुने गरी विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले जनाएको छ ।

बालबालिकाहरुलाई नेकपा एमाले म्याग्दीका उपसचिव एवं जनवर्गीय सङ्गठनका प्रमुख थमसरा पुनले फलफुल वितरण गर्नुभएको थियो ।

बालबालिकालाई फलफुल वितरण गर्दै धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहनुभएकी उपसचिव पुनले मानव जीवनलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि सन्तुलित भोजन, फलफुलको सेवन र शारिरीक व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई राम्रोसँग अध्ययन गरी योग्य र सक्षम नागरिक बन्नुपर्ने सुझाव दिँदै बालबालिका र बालगृहको क्षमता बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने बताउनुभएको थियो ।
मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका सचिव सन्दीप खत्री तथा एलायन्सका पदाधिकारी र बालगृहका कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply