साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ ।
उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नुभएको थियो । त्यहाँबाट फर्किएपछि साउदीअरब पुग्नुभएका घिमिरेले त्यहाँ १० वर्ष तरकारी खेतीको चौकीदारी गर्ने, एअरपोर्टको ग्यारेजमा काम गर्ने, कुखुरा काट्ने, गाई फर्म र कम्पनीमा समेत काम गर्नुभयो ।
विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि घिमिरेले त्यसलाई कृषि पेसामा लगाउनुभयो । कृषि पेसामा लाग्नुभएको झण्डै एक दशक हुन थाल्यो । अहिले उहाँले आफ्नो ८ रोपनीको जग्गामा व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएको छ । ३ रोपनीमा गोलभेँडा खेती गर्नुभएका घिमिरेले २ रोपनीमा काँक्रो र २ रोपनीमा हजारिया जातको केराको व्यावसायिक खेती गर्नुभएको छ । १ रोपनीको जग्गामा खुर्सानी, रामतोरिया र भन्टाको खेती गरेको उहाँले जानकारी दिनुभयो ।
घिमिरेले गोठमा एउटा दुधालु जर्सी गाई, एकएक वटा भैंसी र राँगो तथा २ वटा बाख्रा समेत पाल्नुभएको छ । ५ जना सदस्य रहेको घिमिरेको परिवारका अन्य सदस्यहरुले पनि तरकारी र फलफुल खेतीको उत्पादन तथा बिक्री वितरणमा सहयोग गर्दै आइरहेका छन् । कमला कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सञ्चालन गर्नुभएका घिमिरेले १८ फिट लम्बाई र १२ फिट चौडाइको २ वटा टनेलभित्र गोलभेँडा खेती लगाउनुभएको छ । गोलभेँडाको मात्रै ४ हजार बिरुवा लगाएको उहाँले बताउनुभयो ।
तरकारी र फलफुलबाट वार्षिक सात लाख आम्दानी
व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएका कृषक घिमिरेले एक वर्षमा सातलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो । वार्षिक सरदरमा डेढ लाख रुपैयाँ जतिको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, बारीमा काँक्रो, भन्टा, खुर्सानी र बारीको कान्ला र छेउछाउमा केरा खेती लगाएको बताउनुभयो । उहाँले गोलभेँडा बिक्रीबाट मात्रै सबैभन्दा धेरै चारलाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो । यसैगरी केरा खेती र कागतीबाट वार्षिक दुईलाख आम्दानी हुन्छ भने बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा र सुन्तला बिक्रीबाट एकलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
उहाँले आम्दानीलाई घरखर्च चलाउन र केटाकेटीको पढाई खर्च जुटाउनमा प्रयोग गर्नुहुन्छ । ‘केही रकम व्यावसायिक कृषि खेतीमा लगानी हुन्छ भने बचेको रकमलाई वित्तीय संघसंस्थामा बचत गर्छु’, उहाँले भन्नुहुन्छ, ‘राम्रोसँग ध्यान दिएर आफ्नै गाउँठाउँमा व्यावसायिक तरकारी, फलफुल र पशुपालन गर्नसके पैसा कमाउनकै लागि विदेश जानु पर्दैन ’
उहाँले आफ्नो फर्ममा उत्पादित तरकारी र फलफुल गाउँमै बिक्री गर्नुहुन्छ । सदरमुकाम बेनीबजार नजिकै भएकाले पनि उहाँलाई बेच्न सजिलो छ । उत्पादन गर्न सकेको खण्डमा अर्गानिक तरकारी र फलफुल खरिद गर्न ग्राहक फर्ममै पुग्ने गर्दछन् । उत्पादन गरेको तरकारी र फलफुलको बिक्री वितरण गर्नका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ ।
वास्तविक कृषकको पहिचान गर्नुपर्छ
सरकारले वास्तविक किसानको पहिचान गर्नुपर्ने कृषक हरिलाल बताउनुहुन्छ । संघ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रमहरु ल्याए पनि कृषक घिमिरेले व्यावसायिक खेती गरेकोमा अहिलेसम्म कृषि ज्ञानकेन्द्र म्याग्दीबाट जम्मा तीनवटा प्लाष्टिकको टनेल मात्रै पाएको बताउनुभयो । उहाँले सरकारी अनुदानको नाममा टनेलका लागि प्लाष्टिक पाएको बताउँदै नगरपालिका, वडा र पशु कार्यालयबाट अन्य अनुदानको कार्यक्रम पाउन नसकेको गुनासो गर्नुभयो ।
‘कृषकहरुलाई भनेर सरकारले नीति तथा कार्यक्रममार्फत थुप्रै बजेट र कार्यक्रम ल्याउने गरेको भए पनि त्यो टाठाबाठाका लागि मात्रै छ’, उहाँ भन्नुहुन्छ, ‘सरकारले वास्तविक किसानको पहिचान गरि त्यसैअनुसारको नीति र कार्यक्रमहरु ल्याउनुपर्छ ।’
सरकारले कृषकलाई राहत दिने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उहाँले कृषकलक्षित सही नीति र अनुदानका कार्यक्रमहरु ल्याउने हो भने कृषि क्षेत्रमा धेरै राम्रो गर्न सकिने अनुभव सुनाउनुभयो ।
झण्डै एक दशकदेखि कृषि पेशामा संलग्न कृषक घिमिरेले स्वदेशमा जति धेरै दुःख गरेर कमाएको भए पनि त्यो नदेखिने गरेको गुनासो छ उहाँसँग । उहाँले विदेश गएर अर्काको देशमा पसिना बगाएर कमाएको देखिए पनि आफ्नै गाउँ ठाउँमा गरेको कामको मेहनत अनुसारको प्रतिफल नदेखिएको बताउनुहुन्छ । यसमा पनि सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
‘विदेशमा गएर कमाएको थोरै भए पनि क्वाप्पै देखिन्छ, तर यहाँ जति कमाए पनि बचाउनै गाह्रो छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले स्वदेशमै कृषि पेसा, व्यवसाय गर्ने कृषकहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’