म्याग्दीमा असारको अन्तिम सातासम्म जम्मा ६८ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लामा प्रमुख तीन बाली हुने खेतमा समयमा पर्याप्त पानी नपरेको र सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो ।

जिल्लामा गत वर्ष करिब ८० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेकोमा यो वर्ष भने असार अन्तिम साता बितिसक्दा पनि मनसुनी वर्षा सक्रिय नभएका कारण ६० प्रतिशतभन्दा बढी धानको रोपाइँ भएको जिल्ला बागबोनी कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

‘साउनको दोस्रो सातासम्म रोपाई सकिन्छ,‘ मनुसनी वर्षा सक्रिय नहुँदा कृषकलाई समस्या भएको छ’ अधिकृत पोख्रेलले भने । सिचाई सुविधा भएको ठाउँमा पानी फालाफाल छ भने आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा भने पानी नपर्दा ब्याडसमेत सुक्दै गएको छ ।  म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ ।

त्यसमध्ये जिल्लामा तीन हजार आठ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा गएको वर्ष १३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ ।

किसानले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाइ धान रोप्दै आएका छन् । म्याग्दीको पाखो बारीमा घैया धान रोप्ने चलन पनि छ । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रमा धानखेती हुँदै आएको छ । यी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् । म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् । कुल जनसंख्याको अनुपातमा बार्षिक १५ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ ।

 

Leave a Reply