म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर कालोपत्रे भएको छ । करिब दुई दशकमा करिब १७ किलोमिटर कालोपत्रे भएको म्याग्दीमा एकैबर्षमा १९ किमी कालोपत्रे थपिएको छ ।

चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो ।

बेनी–जोमसोम कोरला सडक आयोजनाले गलेश्वर देखि रघुगंगा गाउँपालिका–१ बेगखोला सम्म विभिन्न स्थानमा गरी यसवर्ष ५ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा राष्ट्रिय गौरवका आयोजनाहरूबाट मात्रै सडक कालोपत्रे धेरै भएको छ। बेनी–जोमसोम कोरला सडक आयोजना अन्तरगत विगत आधादशकदेखि सडकखण्डमा कालोपत्रे भइरहेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो।

यसैगरी पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्ला भित्र सञ्चालित योजना मार्फत १३ किलोमिटर ८ सय ७० मिटर र सघन सहकारी विकास डिभिजन कार्यालय बागलुङ मार्फत एककिलो मिटर आठसय मिटर सडक कालोपत्र गरिएको छ ।
बेनी –बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका २ खबर देखि हाँडेभिर स्थित बेलीब्रीज पुलको मुखसम्म एक किलोमिटर दुईसय मिटर सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडक अन्तर्गत बेनी–तातोपानी–सिम सडकखण्डको १२ किलोमिटर पाँचसय ८५ मिटर दुरीको सडक कालोपत्र भएको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङ मार्फत ठेक्का लगाएर बेनी नगरपालिका–७ मंगलाघाट देखि बेनी नगरपालिका २ बगरफाँटको कोटखोला सम्म गरेर एक किलोमिटर आठसय मिटर सडक कालोपत्र भएको छ । यसैबीच बेनी नगरपालिकाले १.८ किलोमिटर विस्तार गरिएको छ भने २ किलोमिटर मर्मत गरिएको छ । तस्वीर सौजन्य:ठाकुरप्रसाद आचार्य

Leave a Reply