जनस्तरबाट चर्को विरोध र दवावका कारण म्याग्दीमा कालोपत्रे गरिएको सडकमा कायम रहेको यातायातको भाडा घटाउने निर्णय गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे गरिएको सडकमा साउन १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरिएको हो ।

बैठकले कालोपत्रे भएको खण्डमा साविकको भाडामा ५० प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए । ‘निर्णय अनुसारको नयाँ भाडादर सार्वजनिक हुन्छ,‘अटेर गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ’ सहायक प्रजिअ शर्माले भने ।

उनका अनुसार बैठकले समायोजन सहितको भाडादर यातायात व्यवसायिहरुले तत्काल जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पेश गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय समेत गरेको छ । पश्चिम म्याग्दीको तीन स्थानीय तहको लाइफलाइन मानिएको बेनी–दरबाङ सडक अन्तर्गत २४ किलोमिटर सडकमा १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

बेनी–तातोपानी–सिमसम्मको १२ किलोमिटर सडक कालोपत्रे सडकमा अव नयाँ भाडादर कायम हुने छ भने सिमदेखि पश्चिम म्याग्दीका ग्रामिण सडकमा समेत भाडादर समायोजन हुने छ । बेनी देखि पश्चिम म्याग्दीका ग्रामिण क्षेत्रमा सिधै जाने यातायात ब्यवसायीले समेत समायोजन भए अनुसारको भाडा कायम गर्नुपर्नेछ ।

यसअगाडी बेनी–दरबाङ ३१० रुपैयाँ, बेनी–सिम १ सय ९० र बेनी–तातोपानी १ सय ५० रुपैयाँ भाढादर कायम थियो ।नयाँ कायम गरिएको भाडादर अनुसार बेनी–तातोपानी ७५ रुपैयाँ, बेनी–सिम ९५ रुपैयाँ र बेनी–दरबाङसम्म २१५ रुपैयाँ भाडामा यात्रुलाई बोक्नुपर्ने छ। बैठकमा यातायात ब्यवसायीले कालोपत्रे सडकसँगै पेट्रोलियम पदार्थको मुल्य बृद्धिका कारण समेत समस्या भइरहेको बताएका थिए।

यसैबीच बैठकमा जिल्ला स्थित सरोकारवाला र यातायात व्यवसायिहरु समेत सहभागी उक्त बैठकले बेनी–दरबाङ सडकको सिमसम्म कालोपत्रे भएको सिमदेखि दरबाङसम्मको कालोपत्रेको लागि योजना सञ्चालन भैरहेको अबस्थामा बेनीदेखि दरबाङसम्मको २४ किलोमिटर सडकलाई स्थायी रुट कायम गर्न गण्डकी प्रदेश र संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरि जिल्लाभित्र र जिल्लाबाट बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले महिला, अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक लगायतका बर्गलाई छुट्याउनुपर्ने आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय समेत गरिएको छ।

बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रहरी नायब उपरिक्षक तिलक भारती लगायत ट्राफिक प्रहरी, पूर्वाधार कार्यालयका प्रमुख तथा यातायात व्यवसायि कम्पनीहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । जिल्लाका अन्य रुटमा भने यसपटकको बैठकले निर्णय गरेको छैन् । जिल्लाका अन्य रुटमा समेत भाडा समायोजन तथा बोलेरोले मनपरी भाडा लिने कार्यलाई रोक्न सर्वसाधारणले माग गरेका छन् ।

Leave a Reply