म्याग्दीका पूराना भलिबल खेलाडी नरबहादुर पूर्जाको निधन भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ थाईवाङ घर भई हाल पोखरा रामबजारस्थित कान्तिपुरचोकमा बस्ने ५७ बर्षिय पूर्जाको शनिबार विहान निधन भएको हो। तत्कालिन समयमा बि.स २०४० देखि ४६ सालसम्म म्याग्दीबाट अञ्चलस्तरीय भलिबल प्रतियोगितामा सहभागी पूर्जाको नेतृत्वमा बि.स २०४२ सालमा म्याग्दीले अञ्चलस्तरीय भलिबल उपाधी जितेको थियो ।

म्याग्दीबाट पैदलमार्ग हुदै जिल्ला बाहिरका प्रतियोगितामा समेत सहभागी पूर्जा सहितको टोलीले म्याग्दीलाई पहिलो अञ्चलस्तरीय भलिबलको उपाधी जिताएका थिए । तत्कालिन समयमा जिल्ला, क्षेत्रीय तथा पश्चिमाञ्चल क्षेत्रमा समेत पूर्जा सहित म्याग्दीबाट लालबहादुर पुन, तेजेन्द्र शेरचन लगायतका खेलाडीहरू सहभागी भएका थिए । स्वर्गीय पूर्जा तत्कालिन समयमा म्याग्दीको भलिबल टिमले पाएको उत्कृष्ट खेलाडीमध्ये एक मानिने यूकेमा रहनुभएका लिलामान शेरपुञ्जाले बताउनुभयो ।

भलिबल खेलाडी हुदै भारतीय सेनामा भर्ना हुनुभएका पूर्जा अवकशापछि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । गाउँको थाईवाङ आधारभुत विद्यालयमा समेत पूर्जा परिवारको सहयोग रहेको विद्यालयकी प्रधानाध्यापक देवी पूर्जाले बताउनुभयो । स्वर्गीय पूर्जा पोखराको ढुंगेसाधु पुन समाज, कुहुँ समाज पोखरा लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । मृगौला प्रत्यारोपण, दम रोगबाट पीडित पूर्जाको धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

Leave a Reply