म्याग्दीको मंगला गाउँपालिका-१, भर्जुलामा अवस्थित बालोदय आधारभूत विद्यालयलाई एक परिवारले आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारका लागि भर्जुला घर भई हाल यूकेमा बसोबास गर्दै आएका भूतपूर्व ब्रीटिस आर्मी योगेन्द्रमान शेरपुन्जाले ५० हजार आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक मनकुमार जुग्जाली जानकारी दिए ।

‘उहाँहरुको यसअगाडी पनि धेरै सहयोग छ,‘सामाजिक क्षेत्रमा धेरै योगदान गर्नुभएको छ’ शिक्षक जुग्जालीले भन्नुभयो । बिभिन्न संघ संस्थामा आर्थिक सहयोग गर्दै आएका शेरपुन्जाले यो भन्दा पहिला पनि विद्यालयलाई १ लाख ८० हजार सहयोग गरेका थिए । सहयोगदाता शेरपुन्जाका दाजु क्या. जोगबाहादुर शेरपुन्जा पनि विगत लामो समयदेखी विद्यालयलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर रोकाले विद्यालयको सर्बाङ्गीण विकासमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण स्थानीयहरुको सहयोग आवश्यक रहेको बताएका थिए । त्यस्तै सहयोगदाता शेरपुन्जाले विद्यालयको वृद्धि विकासमका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्र.अ. झलकनाथ उपाध्यायले विद्यालयको बारेमा जानकारी गराएका थिए भने शिक्षक मनकुमार जुग्जालीले कार्यक्रम सञ्चालन गरेका थिए । भर्जुलाबाट स्वदेश तथा विदेशमा रहेकाले गाउँको विकासमा लाखौं सहयोग गरेका छन् ।

Leave a Reply