म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी जोखिमपूर्ण स्थानका सडक मर्मत गरिएको छ । बेनी नगरपालिकाले बेनी–गलेश्वर सडकखण्ड अन्तरगत साँघुरो र अप्ठ्यारोका साथै हिलाम्मे सडक मर्मत गरेको हो ।

साउने सोमबारमा सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुने गरी दुई ठाउँमा हिलो जमेको ठाउँमा मर्मत गरी ग्राबेल तथा जेसिबीको प्रयोग गरी सडक मर्मत गरिएको बेनपा–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिम रहेको स्थानमा अस्थायी रुपमा नियमित मर्मत गरिने छ । उक्त सडकखण्ड बेनी–जोमसोम–कोरला आयोजना अन्तरगत पर्ने भएकाले नगरपालिकाले अस्थायी रुपमा मर्मत गरेको वडा अध्यक्ष केसीको भनाई छ ।

सडकखण्ड मर्मत तथा जोखिमस्थानको स्थलगत रुपमा अनुगमनमा मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, वडा नं ७ का अध्यक्ष एवम् नगर प्रबक्ता रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल सहितको टोली रहेको थियो ।

मेयर केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र आयोजनालाई बाँकी काम तत्काल सम्पन्न गर्न समेत ध्यानार्कषण गराइएको बताउनुभयो । बेनी नगरले भक्तजनको सहजका लागि तत्काल आकस्मिक रुपमा काम गरेपनि आयोजना पक्षसँग सडक स्तरोन्नतीका लागि निरन्तर दवाव दिने नगरपालिकाले जनाएको छ।

Leave a Reply