बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार भक्तजनको घुईचो लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण म्याग्दीका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बागलुङ, पर्वतसँगै देशभरबाट भक्तजन मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

‘पहिलो सोमबार नै भक्तजनको भिड लागेको छ,‘दिनभरी करिब २० हजार भक्तजन आउने अपेक्षा गरेका छौ’ अध्यक्ष रेग्मीले भने । साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु पतिको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पूराको कामना गर्दै चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पूजा गर्छन्।

िवहान पाँच बजेदेखि नै यातायातका साधनको चाप अत्याधिक बढेका कारण सवारी व्यवस्थापनमा समेत निकै सकस भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मन्दिरमा आवतजावत गर्ने बेनी–गलेश्वर सडक मर्मत गरिएकाले पनि सहज भएको छ । भक्तजनहरुलाई सहज तरिकाले दर्शन गर्ने ब्यवस्था मिलाउन विभिन्न संघसंस्थाहरुले स्वयंसेवकहरु परिचालन गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

उनका अनुसार भक्तजनको सुरक्षा तथा मन्दिरभित्रबाट चोरी हुने सक्ने भएकाले स्वयंमसेवक समेत परिचालन गरिएको छ । मन्दिर परिसरभित्र कालिगण्डकी नदीबाट ल्याइएको जलको धारामा समेत स्नान गर्ने ब्यवस्था मिलाइएकाले भक्तजनलाई सहज भएको छ । मन्दिरका विभिन्न स्थानमा सिसी क्यामेरा समेत जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले समेत प्रवेशद्धारदेखि नै ब्यवस्थापन राम्रा भएकाले पूजाआजामा सजिलो भएको बताएका छन् ।

गलेश्वर मन्दिर दर्शनको क्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरपालिका भित्रका धार्मिक क्षेत्रको प्रर्वधनका लागि डिपिआर बनाएर काम गर्ने गरी बजेट विनियोजन गरिएको बताए । उनले गलेश्वर, पुलहआश्रम,जगन्नाथ मन्दिरका साथै भकिम्लीको स्वर्गाआश्रम, बेलढुंगासम्म पर्यटन प्रर्वधन गर्ने गरी डिपिआर बनाउन १० लाख विनियोजन गरिएको बताए ।

सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ। कृष्णगण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकाररूपी चिन्ह मानवनिर्मित नभई आफै उत्पन्न भएको धार्मिक पुस्तकहरुमा उल्लेख छ । यसैबीच म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिवालय मन्दिर तथा जिल्लाका विभिन्न शिवमन्दिरमा समेत विहानैदेखि भक्तजनको भिड लागेको छ । यस महिनाको साउनमा ५ सोमबार परेकाले पनि भक्तजनलाई सहज भएको छ ।

Leave a Reply