बेनी-अर्थुङ्गे सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीले कच्ची सहर भाडा असुलिरहेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे गरिएको सडकमा साउन १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरिएपनि कालोपत्रे भएको बेनी–अर्थुङ्गे सडकखण्डको करिब ३ किलोमिटरमा भने कच्ची सडक सहर भाडा लिने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले उक्त सडकखण्डका बारेमा निर्णय गरेपछि सर्वसाधारण आक्रोशित भएका छन् । बेनी–अर्थुङ्गे हुदै नगरपालिको वडा नं ५, ६, ९ र १० वडा तथा छिमेकी मंगला गाउँपालिका वडा नं १ र रघुगंगा गाउँपालिका वडा नं ५ र ६ का बासिन्दा आवतजावत गर्ने गर्दछन् ।

‘कालोपत्रे गरेको उक्त सडकमा तत्काल भाडा समायोजन हुनुपर्छ’ अर्थुङ्गेका प्रमोद शर्माले भने । उक्त सडकखण्डमा दैनिक भाडाको सवारीसाधनमा आवतजावत गर्नेले कालोपत्रे सडकमा भएको भाडा समायोजनकाग लाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै नै भएको बताएका छन् ।

अहिले प्रति यात्रु १ सय रुपैयाँ तिदैं आएको उक्त सडकखण्डमा भाडा समायोजन भएपछि आधा घट्ने छ । आइतबारदेखि लागु भएको भाडा तिर्न खोन्दा यात्रुबाहक बस, बोलेरो जिप, लगायतका साधनका चालकले भाडा समायोजन बेनी–दरबाङ सडकखण्डमा मात्रै भएकाले पुरानै भाडा दिएमात्रै लैजाने बताउने गरेको यात्रुको गुनासो छ। यता सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले उक्त खण्डका बारेमा गुनासो आइरहेको बताउँदै नयाँ भाडादर कायम हुने बताए ।

कालोपत्रे भएपछि कच्ची सडकको भाडा लिनु ठिक नभएको बताउँदै यातायात ब्यवसायीले बेनी–दरबाङकै मापदण्ड प्रयोग गरी भाडादर कायम गर्नुपर्ने सहायक प्रजिअ शर्माको भनाई छ । यसैबीच बेनी–दरबाङ सडकखण्डको भाडादर समेत निर्णय भए अनुसार नभएकाले गुनासो गरिएको छ भने जिल्लाभरको भाडादर महंगो भएकाले एकैपटक समायोजन हुनुपर्ने सर्वसाधारणको माग छ ।

Leave a Reply