म्याग्दीमा पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् । गत आवमा जिल्लामा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको म्याग्दीमा संघीय र प्रदेश सरकार मातहतका कार्यालयबाट ठूलो बजेट असार महिनामा खर्च भएको छ। संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको हो । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४ दशमलव ४५ प्रतिशत अथवा रु ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको छ।

संघीयतर्फ पुँजीगत शीर्षकमा रु ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा रु १३ करोड ४० लाख ११ हजार ७७४ सहित कूल रु २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ । प्रदेशका कार्यालयमा रु ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकामा रु ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ ।खर्च भएकामध्ये रु २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो ।

संघीय सरकारको चालुतर्फ रु तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकोमा रु तीन अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४ दशमलव ७२ प्रतिशत खर्च भएको छ । रु ५१ करोड १३ लाख ६७ हजार ७२९ संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । प्रदेशको चालु शीर्षकमा रु ४८ करोड ५३ लाख विनियोजन भएकोमा रु ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा रु १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ ।

Leave a Reply