बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो।

घरघरमा मिटर जडान गरेर खानेपानी वितरण गरिएको तातोपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष थमबहादुर खत्रीले बताउनुभयो । “विसं २०७२ देखि सुरु भएको आयोजना सात वर्षको प्रयासमा निर्माण सम्पन्न भएको छ”, उहाँले भन्नुभयो “वितरण व्यवस्थित र अनावश्यक पानी खर्च हुन नदिन सबै उपभोक्ताको धारामा मिटर जडान गरिएको छ ।”

घरघरमा खानेपानी आपूर्ति हुन थालेपछि तातोपानीवासीको दैनिकी फेरिएको छ । तल्लो, उपल्लो तातोपानी बजार, फापरखेत, मसार, पुलमुख, कान्ला, टिमिलाखर्क, पाटारुख र चौकी टोलमा मिटर जडान गरेर निजी धारामा पानी वितरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कार्यालयको रु एक करोड २२ लाख १४ हजार र उपभोक्ताको रु २४ लाख बराबरको श्रमदानमा आयोजना निर्माण सकिएको छ । “पाइप कार्यालयले खरिद गरेर उपलब्ध गराएको छ । ट्याङ्की, आरबिटी, इन्टेक, मुख्य लाइन निर्माणमा कार्यालयले खर्च गरेको छ,” उहाँले भन्नुभयो “शाखा र वितरण लाइन खन्न र पुर्न उपभोक्ता समितिले श्रमदान गरेका हुन् । उपभोक्ताले आफू अनुकूलका धारा बनाएका छन् ।”

तातोपानी प्राकृतिक उपचारस्थलको रुपमा परिचित छ । यहाँको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न वर्सेनी हजारौँ बिरामी आउने भएकाले खानेपानी आपूर्ति चुनौती बनेको थियो । योजनाबाट स्थानीयवासीका साथै तातोपानी स्नान गर्ने बिरामी र भ्रमणका लागि आउने पर्यटक तथा पाहुनासमेत लाभान्वित भएका छन् ।

स्थानीयवासी दधीलाल अधिकारीका अनुसार यसअघि १५ वटा सार्वजनिक धारामा पालो लगाएर पाइपमार्फत घर–घरमा खानेपानी आपूर्ति गरिएको थियो । “स्रोतको कमी र बढ्दो सहरीकरणसँगै खानेपानी आपूर्ति र वितरणमा समस्या भएको थियो,” उहाँले भन्नुभयो “नयाँ आयोजना निर्माणसँगै पानीका कारण हुने सामाजिक द्वन्द्व हटेको छ ।”

धाराबाट पानी ओसार्दा हुने समयको बचत भएको छ । घरभित्र र आगनमै धारा हुँदा सुरक्षित र सहज भएको छ । खानीखोला, लेतेखोला, टिमिलाखर्क, भित्रिवनको चार वटा मुहानको पानी एक लाख, २० हजार र दश हजार लिटरको तीन वटा टङ्कीमा सङ्कलन गरेर पाइपमार्फत घरघरमा वितरण गर्ने संरचना बनाइएको छ । तीन हजार ४५० मिटर मुख्य, छ हजार ६११ मिटर शाखा र वितरण, ६ वटा इन्टेक, ३ वटा क्रसिङ लगायतका संरचना निर्माण भएको छ ।

Leave a Reply