पासपोर्ट (राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।

कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्धारण गरिन्छ । अर्थात, कुन देशका नागरिकले कति मुलुकमा ‘अन अराइभल भिसा’ सुविधा पाएका छन् भन्ने आधारमा वरीयता निर्धारण हुने गर्दछ ।

जापानको पासपोर्ट विश्वकै शक्तिशाली भएको सो विवरणमा खुलाइएको छ । जापानका नागरिक भिसा बिना नै १९३ देशमा यात्रा गर्न सक्छन् । ती मुलुकमा उनीहरुले ‘अन अराइभल भिसा’ प्राप्त गर्दछन् ।

दोस्रो नम्बरमा सिंगापुर, दक्षिण कोरिया संयुक्त रुपमा छन् । यी देशका नागरिकले पूर्वभिसा बिना नै १९२ मा यात्रा गर्न पाउँछन् । यस्तै, तेस्रो नम्बरमा रहेका जर्मनी र स्पेनका नागरिकले १९० मुलुकमा भिसाबिना नै यात्रा गर्न पाउँछन् । फिनल्याण्ड, इटली, लक्जमबर्ग चौथो वरीयतामा छन् । यी मुलुकमा नागरिकले १८९ मुलुकमा भिसा बिना यात्रा गर्न पाउँछन् ।

पाँचौं शक्तिशाली पासपोर्ट अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेनको छ, जसका नागरिक १८८ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् । फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र संयुक्त अधिराज्य बेलायतको पासपोर्ट छैटौं वरीयतामा पर्दछ । यी मुलुकका नागरिक १८७ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

अमेरिकासहित बेल्जियम, न्यूजिल्याण्ड, नर्वे र स्वीटजरल्याण्डको पासपोर्ट सातौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८६ देशमा बिना भिसा यात्रा गर्न पाउँछन् । यस्तै, आठौं वरीयतामा अस्ट्रेलिया, क्यानाडा, ग्रीस, चेक रिपब्लिक र माल्टाको राहदानी छ । यी मुलुकका नागरिकले १८५ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

हंगेरी नवौं वरीयतामा छ, जसका नागरिकले १८३ मुलुकमा बिना भिसा यात्रा गर्न सक्छन् भने लिथुआनिया, पोल्याण्ड र स्लोभाकियाको पासपोर्ट दशौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८२ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

नेपाल भने यो वरीयताको १०६ औं स्थानमा छ । नेपाली नागरिकले ३८ मुलुकमा जानका लागि पहिला नै भिसा लिइरहनु पर्दैन । नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

Leave a Reply