प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेकोले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरेका छन्।

शुक्रबार हेटौंडामा नेपाल प्रेस युनियनको नवौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखेका हुन्। ‘पत्रकारले राजनीतिक स्थायीत्वको विषयमा लेख्नुपर्ने आवश्यक छू, देउवाले भने, ‘परिवर्तनका लागि भएको नेपालको महत्त्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ।’

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास एवम् लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले स्वच्छ पत्रकारिता गर्न अनुरोध गरे। नेपाल प्रेस युनियन आम पत्रकारको मार्गदर्शक बन्न सकोस् भन्ने उनको शुभकामना थियो।

निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुन लागेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘चुनावको तयारीमा छौं। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु।’ यस्तै नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षता भएको कार्यकममा सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।

नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस विषयलाई मिडियाले चिर्नुपर्ने सुझाव दिए। ‘अर्थतन्त्रमा केही समस्या छन् तर नेपाल श्रीलंकाको पथमा जाँदैनाै, कार्कीले भने, ‘नेपाल चाडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।’

Leave a Reply