म्याग्दीलाई साहसिक पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी जिल्लाभित्रका पर्यटकीय स्थलमा पूर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सकिने बताउनुभयो। बाहिरबाट आउने पर्यटकले अहिले कुस्मा अनि मुस्ताङ मात्रै थाहा पाउने तर बेनीको महत्त्व हराउँदै गएको हो कि भन्ने पर्न लागेकोले यहाँ अडिनका लागि उचित संरचना तयार गर्नुपर्ने केसीको भनाइ थियो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आन्तरिक तथा बाह्य पर्यटकले अहिले पछिल्लो समय म्याग्दी र यहाँका पर्यटकीय स्थल थाहा पाउनै छाड्न थालेकोतर्फ सचेन रहनुपर्ने बताउनुभयो। प्रमुख केसीले स्रोत जुटाउन र आवश्यक पर्ने स्थान पहिचान तथा प्राप्तिका लागि नगरपालिकाले भूमिका खेल्ने बताउनुभएको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ एवं युवा व्यवसायी ओस्कार श्रेष्ठले म्याग्दीको सम्भावनाका विषय प्रस्तुत गर्नुभएको थियो। श्रेष्ठले म्याग्दीमा स्काई बस, रिभर्स बन्जी, क्यानोइङ, टावर बन्जी, रक क्लाइम्बिङ, एटीभी सफारी तथा मोनो रेलको सम्भावनाबारे जानकारी गराउनुभएको थियो।

यी सम्भावनालाई हेर्दै पब्लिक कम्पनीमार्फत अगाडि बढ्ने र यसबारे थप अध्ययनका लागि तत्कालै भारत पुगेर इन्जिनियरको टोली ल्याई म्याग्दीमा रहेका सम्भावित स्थलको अवलोकन गराउने योजना रहेको प्रमोद श्रेष्ठले बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न सदरमुकाम बेनी नजिकै रहेको लभ्ली हिल, रघुगङ्गा गाउँपालिकामा पर्ने रुइसे, अन्नपूर्ण गाउँपालिकामा पर्ने महभीर तथा छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत मल्लाजको डाँडालाई सम्भावित स्थानका रूपमा लिइएको बताउनुभयो।

बेनी नगरपालिका–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बेनी बजार क्षेत्रभित्र नदी किनारमा पर्यटकका लागि विशेष स्थान बनाउन पहल थाल्ने बताउनुभयो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटकीय क्षेत्र निर्माण र प्रवद्र्धनका लागि सबै प्रकारले सहयोग गर्न सङ्घ तयार रहेको बताउनुभयो। उहाँले सङ्घ आफैँले पनि कुन तहसम्मको लगानी गर्नुपर्ने हो, त्यसमा समेत तयार रहेको बताउनुभयो।

अन्तक्र्रियामा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवन विश्वकर्माले पर्यटनको क्षेत्रमा काम गर्न ढिला भइसकेकोले जति सक्यो चाँडो काम अगाडि बढाउनुपर्ने बताउनुभयो।

बेनी नगरपालिका–८ का वडाध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले लागत र जनघनत्व हेर्दै लगानीअनुसार प्रतिफलसमेत लिन सक्ने क्षेत्र छनोट गरेर चाँडो काम थाल्नुपर्ने बताउनुभयो।  म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा भएको अन्तक्र्रियामा बेनी नगरपालिका, प्रदेश सांसद, पत्रकार महासङ्घ, प्रवासी म्याग्देलीलगायतको सहभागिता थियो।

Leave a Reply