म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेशका उपकप्तान सुजन चोखाल क्षेत्रीमाथि लगाईएको प्रतिबन्धबारे नेपाल भलिबल संघसँग आधिकारिक धारणा माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै म्याग्दीका कप्तान समेत रहेका चोखालको प्रतिबन्धबारे आधिकारिक धारणा माग गरेको हो ।

सेटर चोखालमाथि प्रतिबन्धको ठोस निर्णय नभएको तर मिडियामा प्रतिबन्धको समाचारहरु आएको विषयमा संघको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिबन्धबारे जानकारी माग्दा भलिबल संघले आधिकारिक रुपमा निर्णय नगरेको बताएको संघका अध्यक्ष तेजेन्द्र बानियाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले चोखालसहित हेल्प नेपाल स्पोर्ट्स क्लबका दुई भारतीय खेलाडी विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो  ।

चोखाललाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको संघका एक पदाधिकारीले बताएका थिए ।

गत वैशाखमा आयोजना भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपको दौरान रेफ्रीलाई दुर्व्यवहार गरेको कारण उनीलाई प्रतिबन्ध लगाईएको हो ।

रेफ्रीमाथि दुर्व्यवहार भएपछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार तीनै खेलाडीलाई प्रतिबन्ध गरिएको हो ।

Leave a Reply