कुरा त्यतिखेरको थियो, जतिखेर नेपाली कांग्रेस विभाजित थियो । आफ्नै राजनीतिक गुरु, संरक्षक तथा प्रवर्द्धनकर्ता गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाएका र नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामको भिन्नै पार्टी बनाएका थिए । २०५६ को आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’ घोषणागरी कांग्रेसले प्राप्त गरेको बहुमत किसुनजीलाई १० महिना प्रधानमन्त्री हुन नदिंदै कोइराला खेमामा सरेपछि किसुनजी ललितपुरको बाँडेगाउँ आश्रममा बस्न थालेका थिए ।
भारतबाट डीपी त्रिपाठी, प्रा. आनन्द कुमारसहितको एक टोली नेपाल आएको थियो रे ! उनीहरू किसुनजीलाई भेट्न आश्रम पुगेछन् । उनीहरूले भनेछन्- ‘कांग्रेस फुटेर राम्रो भएन किसुनजी, तपाईंहरू मिल्नु पर्यो । नेपालमा कांग्रेस कमजोर भयो भने दरबार र कम्युनिस्टहरू बलियो हुने हुन् । यसले हिन्दुस्तानलाई पनि अप्ठ्यारो पार्छ । दक्षिणएशियामै लोकतन्त्र कमजोर हुने जोखिम बढ्छ ।’
बोल्न झर्को लागेझैं किसुनजी धेरै बेरसम्म चुप बसेछन् । अन्ततः उनले फ्याट्ट भनेछन्- ‘यो कुरा मलाई किन भन्छौ, आफ्नै प्रधानमन्त्रीलाई भन्दा हुँदैन ! हिन्दुस्तानले गरेको सहयोग रोकिदेओस्, कोइराला रुँदै दुई महिनाभित्र मकहाँ आउनेछन् । कोइरालाले आफ्नै तागतले मलाई पाखा लगाएका हुन् भन्ने ठान्छौ ?’
बीपीको आत्मवृत्तान्तमा नेपाली कांग्रेसको पाटो आउँछ । राजा त्रिभुवन र मोहनशमशेरको पाटो बुझ्न अन्य इतिहासकारका किताबसम्म पुग्नुपर्ने हुन्छ । त्यो बेला त्रिभुवन, मोहनशमशेर र बीपी, मातृकालाई भिन्नाभिन्नै ठाउँमा राखिएको थियो । एकअर्कालाई भेट्न र वार्ता गर्न समेत दिइएको थिएन । सम्झौताको कागज अंग्रेजीमा लेखिएको थियो । जवाहरलाल नेहरूका सेक्रेटरीले त्यो भिन्नाभिन्नै सुनाएका थिए रे !
त्रिभुवनले सही गर्नुअघि सोधेछन्- ‘यसमा के लेखिएको छ ?’ उत्तर पाएछन्- ‘तपाईं फेरि शक्तिशाली राजा हुनुहुनेछ, बाँकी नसोध्नुस् ।’ नभन्दै त्रिभुवनले थप केही बोलेनन् ।
त्यही कागज मोहनशमशेरकहाँ पुग्यो । उनले पनि सही गर्नुअघि के छ भनेर सोधे । ‘तिम्रो प्रधानमन्त्री पद जाने छैन, प्रधानमन्त्रीको प्रधानमन्त्री नै रहने हो, अरू नसोध ।’ त्यति भए मोहनशमशेरले थप केही बोलेनन् ।
कांग्रेसको साइड बीपीको आत्मवृत्तान्तमा छँदैछ ।
पद भनेपछि नेपालीलाई पुग्छ, त्यो अन्तिम अस्त्र हो भन्ने सायद दिल्लीको त्यो बेलादेखिकै बुझाइ थियो । जो पछिल्लो पटक डा. विजय चौथाइवालेमार्फत प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी अध्यक्ष कमरेड प्रचण्डबीच घटित हुन खोजेको थियो ।
सन् २०१४ को आम चुनाव ‘इन्डिया’ को अस्तय र ‘भारत’ को उदयको कारण बन्न पुग्यो । नेपालका पछिल्ला महत्वपूर्ण राजनीतिक घटनाक्रम त्यो बेला नै पूरा भइसकेका थिए- जब त्यहाँ ‘युपीए’ गठबन्धनकै सरकार थियो । तर, नयाँ संविधानसभा जारी गर्ने बखतसम्म आइपुग्दा भाजपाको सत्ता निकै बलियो थियो ।
अहिलेका भारतीय विदेशमन्त्री एस. जयशंकर त्यो बेला विदेश सचिव थिए । सबैलाई थाहा छ- संविधान जारी गर्ने अन्तिम बेलातिर प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका उनी ‘आक्रामक मूड’ मा देखिन्थे । उनले नेपालका सबैजसो मुख्य नेताहरूलाई भेटेका थिए- तीमध्ये तत्कालीन संविधानसभाभित्रको राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई पनि थिए ।
डा. भट्टराई र एस. जयशंकर जेएनयूका ‘कलेज मेट’ हुन् । मैले सुने अनुसार उनीहरू एक ब्याच मात्रै अघि-पछिका हुन् ।
त्यतिखेर नेपालमा मुख्य विवादको विषय संघीयता र प्रदेश सिमांकनको मोडालिटी थियो । यही विषयमा असहमति राख्दै मधेश केन्द्रित दलका सभासद्हरूले संविधानसभा छोडेका थिए । मधेशमा आन्दोलन चर्केको थियो ।
डा. भट्टराईसँगका अन्तरंग छलफलहरूमा मैले बारम्बार ‘छड्के जाँच’ गरेको छु- वास्तवमा त्यो बेला एस. जयशंकरले के भनेका थिए ? मोदीको खास सन्देश के थियो ? के मधेश, मधेशी जनताको सरोकार, नागरिकता, संघीयता, सिमांकन जस्ता कुरा उठाएका थिए ?
डा. भट्टराईका अनुसार उनले कुनै पनि कुरा उठाएका थिएनन्, केवल एक र एक मात्र कुरा उठाएका थिए- हिन्दु राष्ट्र । यदि तिमीहरू धर्मनिरपेक्षता लेख्दैनौं र हिन्दु-राज्य कायम गर्छौ भने मधेश आन्दोलन हामी म्यानेज गर्दिन्छौं, अन्यथा त्यो झनै चर्किन सक्छ भन्ने जयशंकरको कुरा थियो । त्यसपछिका दिनमा त्यो पुष्टि पनि भयो ।
भाजपाको विकासक्रम र नरेन्द्र मोदीको उदयको आधारलाई हेर्दा त्यो अविश्वसनीय उत्तर हैन । भारतमा हिन्दुत्व राजनीतिको जग सन् १९१४ तिर विनायक दामोदर सावरकरले बनाएका थिए । त्यसको ठीक एक शताब्दीपछि अर्का ‘दामोदर दास’ नरेन्द्र मोदी त्यो धारको चक्रवर्ती सम्राट बन्न पुगे ।
यदाकदा नेपालका राजावादीहरू हिन्दुत्ववादी दक्षिणपन्थी दलका रूपमा भाजपाको उदय र शक्ति नेपालमा राजतन्त्र पुनस्र्थापनाका लागि उपयोगी हुन्छ कि भन्ने आशा गर्दछन् । त्यो मनको लड्डु घिउसँग खाएजस्तो मात्रै हो । त्यसको अर्थ हो- गोल्वाल्करवादको सारतत्वलाई नबुझ्नु ।
भाजपाको राजनीतिक विचारधारा निर्माणमा मुख्य तीन व्यक्तिहरूको ठूलो भूमिका देखिन्छ । सावरकर, गोल्वाल्कर र दीनदयाल । यद्यपि संगठन र आन्दोलन निर्माणका दृष्टिले यीभन्दा हेडगेवार, श्यामप्रसाद मुखर्जी, अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीले फरक-फरक कालखण्डमा भूमिका गरे । हिन्दु महासभामार्फत सावरकरले भारतीय राजनीतिमा हिन्दुत्वको बीउ रोपेका थिए । उनको चिन्तन प्रणालीमा धर्म, संस्कृति र सभ्यताको समग्रताबाट राष्ट्रको जन्म हुन्छ । तसर्थ हिन्दु धर्म मात्र हैन, यो आध्यात्मिक परम्परा र जीवन पद्धति मात्र हैन, ‘हिन्दुत्व’ एक राजनीतिक विचारधारा हो र ‘हिन्दुस्तान’ एक महान् राष्ट्र ।
यो चिन्तन प्रणालीमा राजतन्त्रको कुनै स्थान छैन । जसले यो विचारधारा अघि बढाए उनीहरू अधिकांश ‘गैरक्षेत्रीय वा गैरराजपूत हिन्दू’ हरू थिए । अहिलेका मोदी, शाह र नड्डा पनि राजपूत हैनन् । राजनाथ सिंह एक राजपूत अझै छन् त्यहाँ तर, उनी नेपाल मामिलामा खासै रुचि राख्दैनन् ।
भारतमा मुसलमानहरूको आक्रमणपछि पहाडतिर भागेका चित्यौडी राजपूतहरू कालान्तरमा नेपालका पहाडबाट कुलमण्डन शाह हुँदै शाह राजतन्त्र बनेको जगजाहेर छ । यसको माया अझै योगी आदित्यनाथले गरेको देखिन्छ । कारण ‘गोरखनाथ’ को साइनो हुन सक्दछ । उनी गोरखनाथ मठको पीठाधीश हुँदै राजनीतिमा आएका थिए । नेपालमा गोरखाको नाम नै गोरखपुरका गोरखनाथ सम्प्रदायका जोगीहरूको अखडाबाट भएको विश्वास गरिन्छ । तसर्थ ज्ञानेन्द्र शाहले पाउने भनेको त्यही कुम्भस्नानको आमन्त्रणसम्म हो, जो कोरोना सार्नसम्म मात्रै काम लाग्छ ।
माधव सदासिशराय (एम.एस.) गोल्वाल्करको विचारलाई बुझ्न उनको मुख्य पुस्तिका ‘विचारपुञ्ज’ सर्वाधिक उपयोगी हुन सक्दछ । यसले उनको ‘अखण्ड भारत’ र ‘हिन्दु-राष्ट्र’ वैचारिक आधार दिन्छ । हन्टिङ्टनले ‘सभ्यता संघर्षको सिद्धान्त’ भन्दा आधा शताब्दी बढी समय अगाडि नै गोल्वाल्करले सांस्कृतिक मान्यता, चिन्तन पद्धति र जीवनशैलीहरूको संघर्षबाट राष्ट्रहरूको जन्म र विकास हुने, यस्तो संघर्षबाट विमुख भएमा कुनै पनि राष्ट्रको अन्त्य हुनसक्ने चेतावनी दिएका थिए ।
गोल्वाल्करवादको सार हो- हिन्दुत्व आफैंमा एक विचारधारा, सभ्यता र राष्ट्र हो, यसका मुख्य तीन दुश्मन छन्- इसाइ, इस्लाम र कम्युनिस्ट । जसले यी तीन विचार विरुद्ध लड्दैन, त्यो साँचो हिन्दु र हिन्दुस्तानी हैन ।
सावरकर र गोल्वाल्करको विचारलाई पछि दीनदयाल उपाध्यायले ‘अन्त्येन्तिक मानवतावाद’ को नाममा आधुनिक दर्शनको रूप दिने प्रयत्न गरे जसको सार- मानवताको सर्वाङ्िगक प्रस्फुटन आफ्नै इतिहास र सभ्यताको गर्तबाट हुन्छ, र त्यो एक भिन्नै फूल र सुवासका रूपमा अस्तित्वमा कायम रहन सक्दछ भन्ने थियो ।
तसर्थ एस. जयशंकरमार्फत मोदीको सन्देश मधेश र संघीयता थिएन, हिन्दुत्व थियो भनेर पत्याउन नसकिने हैन । गोल्वाल्करवादले नेपालमा यतिखेर सबैभन्दा धेरै सताइएका पात्र भने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् ।
धर्मबारे देउवाको धारणा के हो थाहा छैन । तर, पाँचौंपटक जब उनी प्रधानमन्त्री भए- बूढानीलकण्ठ निवासमा पहिलोपटक उनले तुलसीको मठ बनाए । चारपटकसम्म प्रधानमन्त्री हुँदा उनलाई यो नौवत आएको थिएन । म्याडम आरजु एकादशीको ब्रत बस्न थालिन् । देउवा दम्पती र परिवारले यदाकदा धार्मिक कर्मकाण्डका तस्बिर सार्वजनिक गर्न थाल्यो । हुँदाहुँदा म्याडम आरजु डा. विजय चौथाइवालेलाई भाइ मानेर राखी बाँध्ने स्थितिसम्म पुगिन् । ‘राखी कूटनीति’ एक नयाँ शब्दावलीको जन्म भयो ।
तर, म्याडम आरजुुका ‘राखीवाला भाइ’ के कत्रा कदका शक्ति अभ्यासकर्ता हुन्, उनी शतप्रतिशत कर्रा गोल्वाल्करवादी हुन् वा उनको नाम जस्तै ‘चौथाइ’ मात्रै, उनको इच्छा र प्रयासले केसम्म हुने हो वा नहुने हो ? यो प्रश्न अनुत्तरित छ ।
पदले उनी भाजपाका विदेश विभाग प्रमुख हुन् । झट्ट हेर्दा यो ठूलै पद होला । तर, भारतले नेपाल ‘डिल’ गर्ने यो कुनै औपचारिक पद भने हैन । भारतीय विदेश मन्त्रालय छ- जहाँ नेपाल राम्रो बुझेका विदेशमन्त्री तिनै एस. जयशंकर र भर्खरै नेपालबाट फर्किएका राजदूत विजयमोहन क्वात्रा सचिव छन् । नेपालका पेचिला मामिलाहरूमा पर्दा पछाडिबाट ठूलो रुचि राख्ने मोदीका सुरक्षा सल्लाहकार अजित डोभल छन् । इन्टेलिजेन्सको बुझाइ, योजना र प्रयास आफ्नो ठाउँमा हुँदै होला । आरएसएसको नेपाल शाखामार्फत केही न केही रहलपहल कुरा जाँदो हो ।
नेपालमा नयाँ संविधानपछिको दोस्रो आम चुनाव आउनै लाग्दा राखीवाला भाइ डा. विजय चौथाइवालेले प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र सत्ता गठबन्धनको मुख्य सहयोगी दलका नेता कमरेड प्रचण्डबीच आफ्नो रोहबरमा दिल्लीमा गोप्य भेट गराउने योजना किन बनाए ? यस पछाडिका रहस्य खासै छिपेका छैनन् ।
त्यसो त चौथाइवालेको ‘कद’ जस्तै म्याडम राणाको ‘हैसियत’ के भन्ने प्रश्न नउठ्ने हैन । यो स्तरको संवादका लागि ‘प्रधानमन्त्री पत्नी’ आफैंमा पर्याप्त हैसियत हैन । तथापि प्रधानमन्त्री देउवाका आफ्नै बाध्यता छन् । उनी सार्वजनिक र महत्वपूर्ण कार्यक्रमहरूमै ढुसढुस्ती उङ्ग्ने र र्याल चुहाउने गरी बुढिंदै गएका छन् । बडो ठूलो यत्नले असंभव झैं लाग्ने कांग्रेस नेतृत्व उनले कोइराला परिवारको विरासतबाट खोसेका हुन् । तर, यसको उत्तराधिकार खै ? सायद पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण देउवा गुटका मुख्य सारथि हुन्, जो मंसिरको चुनावपछि प्रधानमन्त्री हुुुने हैसियत र छवि अझै राख्दैनन् ।
स्वास्थ्य र उमेरको कारण कदाचित मंसिरपछि पद छोड्नुपर्ने स्थिति आए आफ्नो उत्तराधिकार पत्नीमा सार्न देउवा इच्छुक छन् भन्ने बुझ्न कुनै गाह्रो छैन । राजकाजमा म्याडम आरजुको अस्वाभाविक सक्रियता र कूटनीतिक सम्बन्ध निर्माणको प्रयत्न त्यसैको रिहर्सल हो । त्यो पनि असाध्यै प्रारम्भिक तहको रिहर्सल ।
गोल्वाल्करवादले मुख्य तीन दुश्मन ठान्ने इसाइ र इस्लामको खतरा नेपालमा छैन । यस मानेमा नेपाल र भारतको भिन्नता के हो भने भारत ४/४ पटक बाहिरिया र गैरहिन्दुबाट शासित हुन बाध्य थियो । इसापूर्व चौथो शताब्दीतिरै मेसिडोनियाली शासक अलेक्जेन्डर द ग्रेट एशिया माइनर र अफगान हुँदै पञ्जाबसम्म आए । पहिलोपटक भारतीयहरूलाई विदेशी, गैरहिन्दुको शासन भोग्न बाध्य बनाए । यद्यपि त्यो त्यति लामो भने रहेन ।
दोस्रोपटक चौथो शताब्दीतिर तुर्क मूलका मुसलमानहरू भारत आए- जसले बंगाल सुल्तानियत स्थापना गरी भारतीय हिन्दुहरूमाथि शासन गरे । भारतीय हिन्दुहरूका लागि मुगल वंशका बाबर तेस्रो आक्रमणकारी थिए, जसले दिल्ली सुल्तानियत र मुगल साम्राज्यको स्थापना गरे । पछिल्लो पटक इष्ट इण्डिया कम्पनी हुँदै इसाई अंग्रेजहरूले आंशिक करिब १९० वर्ष र पूर्णतः करिब ९४ वर्ष शासन गरेका थिए ।
इतिहासका यी परिबन्द र नियतिहरू हेर्दा भारतीय हिन्दुहरूमा एकप्रकारको ‘प्रतिशोध’ को भावना हुनु र हिन्दुत्वको राजनीति बलियो हुनु अस्वाभाविक भने हैन । कार्ल गुस्ताभ युङको मनोविश्लेषण पद्धतिमा मानवीय आद्यबिम्व सामूहिक अवचेतनको उपज हो र त्यसको एउटा कारण पुर्खाले भोगेका दुःखहरूप्रति पछिल्लो पुस्ताको सहअनुभूति हो ।
तर, नेपालको स्थिति बिल्कुलै त्यो हैन । अलेक्जेन्डर कहिल्यै नेपाल आएनन् । बंगाल सुल्तानियतले नेपाललाई दुःख नदिएको हैन, तर त्यो लामो टिकेन । मुगलहरूसँग नेेपालको खासै ठूलो टसल भएन । अंग्रेजहरूसँग नेपालको सुगौली सन्धि भयो, भारतीयहरू झैं नेपाली अंग्रेज शासित भएनन् ।
भारतीयको सामूहिक अवचेतन जो हो, नेपालीको ठीक त्यही हैन । तसर्थ नेपालमा गोल्वाल्करवादको राजनीतिक प्रभाव सहज छैन ।
तर, गोल्वाल्करवादी सत्ताको तेस्रो दुश्मन ‘कम्युनिस्ट’ हरू भने नेपालमा पर्याप्त छन्, सायद आवश्यकता भन्दा धेरै । कम्युनिस्टहरूको ठूलो, बाक्लो र बलियो उपस्थितिले नै कुनै देशको कायापलट हुन्थ्यो त नेपालको भइसक्नुपथ्र्यो । नेपालका कम्युनिस्टहरू झण्डैको दुईतिहाइसम्म पुगे । तर, अहिले यदुवंशीझैं एकआपसकै लडेर मर्न लागेका छन् भने यिनीहरूलाई तह लगाउन मोदीले बारम्बार डा. चौथाइवालेलाई नेपाल किन पठाइ रहनुपर्यो ?
यसको रहस्य नेपालका कम्युनिस्ट लक्षित छैन । नेपालका कम्युनिस्टहरूसँग भारतीय सत्ता कहिल्यै न डरायो न डराउँछ । नेपालका कम्युनिस्टहरूको नसा उसले राम्ररी छामेको छ र यिनीहरूको नलीखुट्टामा के कति मासी छ भन्ने पनि राम्रै थाहा छ । कुनै न कुनै रूपमा आफैंले हुर्काएका, पालेका वा प्रोत्साहन गरेकाहरूसँग किन डराउँथ्यो होला !
खासमा नरेन्द्र मोदीको सत्ता डराएको नेपालका कम्युनिस्टहरूसँग हैन, चीनका कम्युनिस्टहरूसँग हो । नेपाल मामिलामा चीन झन्झन् मुखरित हुँदै जानु गोल्वाल्करवादका लागि निकै ठूलो चिन्ताको विषय हो । एमसीसी प्रकरणमा बेइजिङले दुई-दुई पटक प्रेस नोट जारी गर्यो, जो आवश्यक नै थिएन ।
डोनाल्ड लुले प्रचण्डलाई फोन गरेर धम्क्याएको सूचना अन्यत्रबाट बेइजिङ पुग्ने कुरै भएन, पुग्दा कमरेड प्रचण्डकै सचिवालयबाट पुग्ने हो । त्यसो त पछिल्लो चरणमा चिनियाँहरू वैचारिक सामीप्यता मात्र गर्दैनन्, मौका परे फन्डिङ गर्छन् भन्ने कुरा ‘महरा टेप प्रकरण’ पछि प्रष्टै भएको हो । त्यो बेला कमरेड प्रचण्ड बारम्बार सिंगापुर किन जान्थे भन्ने रहस्यको पोल पनि त्यही टेपमा छँदैछ ।
गत साता नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान छाओ कम्युनिस्ट नेताहरूका घरघर गए । यहाँसम्म कि उनले भक्तपुरका छोटे कमरेड नारायणमान बिजुक्छेलाई समेत छुटाएनन् । उनको सन्देश बुझ्न गाह्रो थिएन र सूचनाहरूले पनि त्यही भन्छ कि चीन नेपालका कम्युनिस्टहरू फेरि मिलुन् भन्ने चाहन्छ । यो चाहना पछाडिको कारण प्रष्ट छ- दुवै देशमा कम्युनिस्ट पार्टीको शासन भए नेपाल नीतिमा आफूलाई सजिलो पर्ने चीनको ठहर हो ।
प्रति-सभ्यतासँग भिडेर मात्रै आफ्नो अस्तित्वको रक्षा गर्न सकिन्छ भन्ने सोचमा विश्वास गर्ने सोचको भारतीय सत्ताले काउन्टर रणनीति बनाउने नै भयो । त्यसो त, कम्युनिस्टहरूको वर्ग-संघर्षको सिद्धान्तको सार पनि यही हो ।
मंसिरको चुनाव अघि कम्युनिस्टहरूलाई टाढा राख्ने रणनीति अनुरूप प्रचण्ड भारत बोलाइए । म्याडम आरजुले बाँधेको राखीको त्यान्द्रो पक्रेर मंसिरपछि ‘जनै’ फेर्न पाइन्छ भने एकपटक फेरि किन नफेर्ने भनेर तम्सिंदै कमरेड प्रचण्ड दिल्ली पुगे ।
दिनमा चारपटकसम्म बालुवाटार धाउने कमरेड प्रचण्डले म्याडम आरजुलाई भेट्न दिल्ली पुगिरहनुपर्ने थिएन । कारण- राखीवाला भाइ त्यसको जस लिन चाहन्थे । २००७ सालमै बनेको नेहरू मानसिकताबाट मोदी पनि मुक्त रहेनछन् । नेपालीलाई मिलाएर पद बाँडिदियो भने त्यसको जस र कमाण्ड आफूसँगै रहन्छ भन्ने भारतीय सोच नेपालका लागि ठूलो चुनौती र दुर्भाग्य हो ।
मंसिरको चुनावपछि कमरेड प्रचण्डले जनै फेर्लान्, नफेर्लान् अझै प्रष्ट छैन । तर, कुरा नमिले जस्तो देखिन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुनु र नेपाल फर्किने बित्तिकै कमरेड प्रचण्डले कांग्रेसलाई ब्यालेन्स गर्न ‘समाजवादी केन्द्र’ को खेलोफड्को सुरुवात गर्नु बीच ठाडो सम्बन्ध छ । मंसिरपछि आलोपालो प्रधानमन्त्रीको गोप्य सम्झौता हुन सकेको भए सायद उनी कांग्रेसमै भर परेर बस्थे, ‘समाजवादी केन्द्र’ को कार्ड कांग्रेसलाई देखाउनतिर लाग्ने थिएनन् ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र डा. बाबुराम भट्टराईको मायाले मात्रै कमरेड प्रचण्डले यस्तो नयाँ खाल सुरुवात गर्ने थिएनन् । यो तथाकथित समाजवादी केन्द्रको भविष्य कमरेड प्रचण्डलाई कांग्रेसले कत्तिको आश्वस्त गर्न सक्दछ भन्ने कुरामा भर पर्दछ । यदि कांग्रेसले माओवादी केन्द्रका लागि उल्लेखनीय सिट र मंसिरपछिको आलोपालो प्रधानमन्त्रीको वचन दियो भने निमेषभरमै समाजवादी केन्द्र भताभुङ्ग हुनेछ । हुनत यस्तो केन्द्र बने नै पनि त्यो शक्तिहीन हुँदै गएका बुढा नेताहरूको ‘आत्मकुण्ठा मोचन केन्द्र’ भन्दा बढी केही होला जस्तो लाग्दैन ।