मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका –५ नमखुलेकमा जारी चौंरी र याकको आलो रगत पिउने मेलामा रगत पिउनकै लागि सर्वसाधारणको भीड लागेको छ। साउन ४ मा शुरु भएको उक्त मेलामा दैनिक सयजनाभन्दा बढी मानिस चौंरी र याकको आलो रगत पिउन आउने गरेका स्थानीय चौंरीपालक कृषकहरू बताउँछन्।
मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिसहरू चौंरीखर्क पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बुलगायत खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिसहरू चौंरीको रगत पिउन आउन गर्छन्।
यसरी चौंरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धि हुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोगहरू निको हुने स्थानीयको भनाइ रहेको छ। तर यस विषयमा चिकित्सकहरू भने मौन छन्। उनीहरूका अनुसार स्वास्थ्य परीक्षण नगरीकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै करिब एक घण्टाको पैदल यात्रापछि याक खर्कमा पुग्न सकिन्छ। प्राकृतिक सुन्दरताले युक्त नमखुलेकको याकखर्क अहिले रोमाञ्चक र पीडादायी दुवै किसिमका दृश्य एकैसाथ देखिएका याक खर्कमा पुगेका राजन सापकोटाले बताए।
सिमसिम पानी परेको बेलामा नमखुलेक र याकखर्कको सुन्दरताले लोभ्याउने भए पनि याकचौंरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर घुटुघुटु पिएको दृश्य भने निकै पीडादायी लाग्ने उनको भनाइ छ।
चौंरी मेलामा किसानहरूले पालेका २ सय ५० भन्दा बढी चौंरी र याकलाई ल्याइएको छ। ती याक र चौंरीलाई तालिमप्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नसा पत्ता लगाइ चापो (एक किसिमको चक्कु)ले नसा काटेर रगत निकाल्ने गर्छन्। रगत निकालिसकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौंरी छाडिन्छ।
यहाँका खर्कहरूमा प्रत्येक वर्ष साउन र वैशाख गरी दुई पटक आलो रगत निकालेर बिक्री गर्नका लागि नै चौंरीको रगत पिउने मेला आयोजना हुँदै आएको छ। घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौंरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ।
नमखुलेखको याकखर्क निलगिरी हिमालको फेंदमा रहेको छ। यो क्षेत्र प्राकृतिक सुन्दरताले समेत चित्ताकर्षक छ। हिमालको काखमा पुगेर विशुद्ध प्राङ्गारिक जडिबुटी खाएका याक चौंरीको रगत पिउँदै हिमाली सौन्दर्यमा लठ्ठिन पाउँदै निकै आनन्द आएको याकखर्कमा पुगेर चौंरीको रगत पिएर फर्किएका म्याग्दीका युवा सन्तोष सुवेदीले बताए।
रगत बेचेर पैसा कमाउँदै चौंरीपालक कृषक
मुस्ताङका चौंरी र याकपालक कृषक वर्षको दुई पटक हिमाली खर्कमा लाग्ने मेलामा चौंरी र याकको आलो रगत बेचेर आम्दानी लिन पाएका छन्।
मानवीय संवेदना, मानव स्वास्थ्यका लागि उपयुक्त वा अनुपयुक्त के छ भन्ने दृष्टिकोणबाट जसरी हेरिए पनि कृषकका लागि भने यो मेला पैसा कमाउने माध्यम बनेको छ।
यस भेगका चौंरी खर्कमा झण्डै ३ सयको हाराहारी याकचौंरी पालिएका स्थानीय बासिन्दा तथा चौंरीपालक कृषक पुरन गौचनले बताए।
स्थानीय बासिन्दा एवम् चौंरीपालक कृषक भूपेन्द्र शेरचनका अनुसार याकचौंरी पाल्ने कृषकका लागि आलो रगत निकालेर बेच्नु वैकल्पिक आम्दानीको स्रोत पनि हो। एउटा वयस्क याक तथा चौंरीबाट न्यूनतम १५ देखि अधिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास २ सयमा बेच्ने गरिएको चौंरीपालक कृषक शेरचनको भनाइ छ।
मुस्ताङमा चिसो भूगोल र जंगली प्राङ्गारिक जडिबुटी खाएर हुर्काइएका याकचौंरीको मासु स्वादिलो र पोसिलो हुने हुनाले मासुको समेत उच्च माग हुने गरेको किसानले बताएका छन्। चौंरीको दूधबाट उत्पादित दही, घ्यु, चिज र छुर्पीलगायत परिकार बनाएर बिक्री गर्ने गरिन्छ।
पशुको निर्मम शोषण
स्वाद, उपचार, मनोरञ्जन र व्यापारको दृष्टिकोणले जतिसुकै राम्रो मानिए पनि कुनै पनि जीवित पशुको घाँटीमा चक्कुले रेटेर रगतको धारा निकाली, गिलासमा भरेर घुटुघुटु पिउनु मानवीय दृष्टिकोणले कत्ति पनि उचित नभएको र यस्तो काम अबोध पशुमाथि मानिसले गरेको निर्मम शोषण भएको पाका मानिसहरूको भनाइ रहेको छ।
विज्ञानले चिकित्सा क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान गरी असाध्य रोगको औषधी, खोपलगायतका उपचारसँग सम्बन्धित हरेक कुराहरू पत्ता लगाइसक्दा पनि मानिसहरुले आफ्नो स्वास्थ्य र उपचारकै नाउमा अबोध जीवित पशुको रगतसमेत पिउनु मानवीय संवेदना र धार्मिक दृष्टिकोणले पनि कत्ति उचित नभएको ७५ वर्षीय दधिलाल रिजालले बताए।
डा.खगेन्द्रराज सापकोटाका अनुसार जीवितै अवस्थामा चक्कुले चौंरीको घाँटी रेटेर निकालिएको आलो रगत तत्कालै गिलासमा भरेर पिउनाले मानवका स्वास्थ्यका लागि कति सुरक्षित हुन सक्दछ त्यो आफ्नो ठाँउमा छ।
आलो रगत पिए शारीरिक फूर्ति बढ्ने, गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने अन्धविश्वास पनि कायमै छ तर विज्ञानमा ताजा रगत खान योग्य वस्तु वा भागको रूपमा परिभाषित गरिएको छैन।
बरू रगतमा विभिन्न विषाक्त पदार्थका अवशेष रहेका हुन्छन् भनिएको छ। सामान्य शारीरिक प्रक्रियाअनुसार संक्रमण गराउने हानिकारक विषाक्त तत्वहरू रगतको शुद्धीकरण प्रक्रियापछि मुत्र प्रणालीमार्फत् बाहिर जान्छन्।
यसकारण तातो ताजा रगत पिउनाले रगतमा हुने हानिकारक विषाक्त तत्वहरूका कारण मानव स्वास्थ्यमा जोखिम खडा गर्न पनि सक्छन्। यसले पशुबाट मानवमा संक्रामक रोगहरू सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि सङ्क्रामक रोग फैलिने संभावना पनि उत्तिकै हुन्छ।