नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी म्याग्दीको सदरमुकाम बेनीमा भेटिएका छन् । नैरोबी फ्लाई जस्तै लक्षण देखिने छालासम्बन्धी समस्या भएका बिरामी स्वास्थ्य संस्थामा आउन थालेका छन् । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सञ्जिविनी हेल्थ क्लिनिकमा पछिल्लो दिनमा नैरोबी फ्लाइको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको ५ जना बिरामी आएको सञ्चालक कुमार बानियाँले बताउनुभयो ।

‘लक्षण सबै नैरोबी फ्लाईसँग मिल्छ,‘गाउँतिरबाट पनि फोन आउने गरेको छ’ सञ्चालक बानियाँले भन्नुभयो । क्लिनिका आएका बिरामीको छालामा एलर्जी भएको, तथा घाउ भएपछि बानियाँले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेका थिए ।बेनी सञ्जिविनी हेल्थ क्लिनिकमा उपचारका लागि आएका नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी । तस्वीर सौजन्य:-बेनी सञ्जिविनी हेल्थ क्लिनिक

यता बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले छालाको समस्या भएका बिरामीको संख्या बढेपनि हालसम्म बेनी अस्पतालमा नैरोबीको केस रिपोर्ट नभएको बताउनुभयो । ‘संक्रमणको जोखिम छ, सर्तकता आवश्यक छ,‘ किराका कारण समस्या देखिए पनि क्रमशः आफै निको हुन्छ’ प्रमुख डा. कँडेलले भन्नुभयो । शंकास्पद बिरामी भेटिएमा थप परीक्षणका लागि पठाइने समेत डा. कँडेलको भनाई छ । नैरोबी फ्लाई किराले छालामा एसिड छाडेको भागलाई साबुन पानीले राम्रोसँग सफा गर्न समेत डा. कँडेलको भनाई छ ।

धेरै पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन पनि डा. कँडेलको सुझाव छ । मेलापातको समय भएकाले यो किरा धेरै वर्षा हुने स्थानमा देखिने भएकाले सतर्कता आवश्यक रहेको चिकित्सको भनाई छ । नैरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो । बाली विज्ञहरूको अनुसार यो किराले बाली उत्पादनमा सहयोग गर्ने किराहरूलाई आक्रमण गर्दछ । सो क्रममा कृषकहरूको छालामा बस्नपुग्ने र संक्रमण गराउँछ ।

 

 

Leave a Reply