पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि निर्मित पक्की पदमार्ग भत्किएर आवतजावतमा समस्या भएको छ। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बेनीदेखि नजिकै बेनी नगरपालिका-२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिल पु¥याउन बनाइएको पदमार्गमा हिड्नै समस्या हुने गरी भत्किएको छ ।पदमार्गको पक्की संरचना, रेलिङमा समेत क्षती पुगेको छ ।

पदमार्ग उद्घाटन भएपछि यता एकपटक पनि बर्खाको समयमा भत्किएको संरचना बनाउने तर्फ सम्बन्धित निकायले ध्यान दिएको छैनन् । बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्मित पदमार्गको मर्मतका लागि कोष बनाउने बताइएपनि तीनवटै निकायले भत्किएको र नियमित मर्मत गर्नुपर्ने स्थानमा ध्यान नदिएको स्थानीयको भनाई छ ।

‘पदमार्ग भत्किएको छ,बर्खाको समयमा आवतजावत गर्न निकै समस्या हुन्छ’ स्थानीय चन्द्रबहादुर कार्कीले भन्नुभयो। लभ्लीहिलमा दैनिक घुम्न जानेले समेत लामो समयसम्म मर्मत नभएको भन्दै आक्रोश पोख्ने गरेका छन् । पदमार्ग निर्माणका लागि क्रमशः बेनपाले ५०, मोना आइईसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारी अन्तरगत मोना आईईसीबाट २९ लाख ८९ हजार ४४४, बेनी नगरपालिका ३७ लाख ३६ हजार ८०५ र म्याग्दी उद्योग वाणिज्य संघले ७ लाख ४७ हजार ३६० खर्च गरेको थियो ।

पदमार्ग उद्घाटन भएपछि मर्मत कोष कसले सञ्चालन गर्ने भन्ने बारेमा प्रष्ट उल्लेख नहुदाँ समस्या भएको छ । यता मोना आइसीले भने पदमार्ग निर्माणपछि हस्तान्तरण गरिएकाले बेनी नगरपालिकामार्फत नियमित मर्मत हुनपर्ने जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउन लागि पदमार्ग निर्माण गरिएको थियो ।

पदमार्गको ६ सय ६० मिटर पदमार्ग बनेको छ । २ मिटर चौडाइको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेकोमा पदमार्गको दुवैतर्फ रेलिङ हालिएको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । तस्वीर सौजन्य नरेश श्रेष्ठ

Leave a Reply