एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको अवस्था, विवशता र बाध्यता। अक्करे भिर, जंगल भित्रको यात्रा र चारैतर्फ पहाडै पहाडले घेरेको गुर्जाबासीको एकता र सहकार्यमा हुने हरेक काम प्रभावकारी हुने गरेको छ । जसको एउटा उदाहरण वडामार्फत गरिएको निर्णयमा स्थानीयको साथ ।

वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णयलाई स्थानीयले स्वागत गरेका छन्। समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

‘हाम्रो निर्णयमा स्थानीयको साथ र समर्थन छ,‘यसपटक समुदायकै चासोले थप उत्साहित छौ’ वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । वडाले तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएको छ ।

जरिवानाबाट संकलन भएको रकमलाई समुदायमै खर्च गर्ने समेत वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । मदिरा सेवनले गाउँमा घरझगडाका साथै काम छोडेर समेत जुवाताजमा तल्लिन हुदाँको समस्या समाधान हुने स्थानीय महिला समुहको भनाई छ । वडाको निर्णयले आमा समुह र महिलाहरु धेरै उत्साहित भएका छन् ।

समुदायको हित हुने हरेक अभियानको सकारात्मक सन्देश प्रवाह हुने भएकाले गाउँपालिका भित्रका सबै वडाको सक्रियतामा गाउँपालिकाको साथ हुने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताउनुभयो । जिल्लाकै अति विकट बस्तीका जनतालाई प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको गूर्जामा सडक सञ्जाल पुगेको छैन् । छन्त्याल जातिको बाहुल्यता रहेको गुर्जामा दलित सहित २६५ घरधुरी रहेको छ ।

 

Leave a Reply