म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको छ । वर्षा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तिय संस्थाको शाखासम्म आउन समेत समस्या हुने भएपछि वडामै पुगेर भत्ता वितरण गर्ने गरेको छ । वडाभित्रका सबै ८ वटै वडामा भत्ता वितरणलाई भविस्यमा समेत निरन्तरता दिने गाउँपालिका अध्यक्ष भरत पुनले बताउनुभयो ।

बैंक तथा वित्तिय संस्थाले सम्झौता अनुसार नै वडाबाट वितरण गर्ने कार्यमा सहयोग भएपछि सहज भएको अध्यक्ष पुनले बताउनुभयो । ‘भत्ता वितरण गर्दा धेरैको अनुहारमा उज्यालो देखिन्छ,‘आवश्यक परेमा घरमै पुगेर समेत वितरण गर्ने वातावरण बनाएका छौ’ अध्यक्ष पुनले भन्नुभयो । उहाँले वडासम्म आउन नसक्नेलाई घरमै पुगेर हातमै भत्ता दिने बताउनुभयो ।

शुक्रबार वडा नं ७ हिस्तानमा प्रभु बैंकले जनप्रतिनिधिको उपस्थितीमा भत्ता वितरण गरेको छ । घराम्दी, हिस्तान, रिमा, औल, दोसल्ले,महभिरका २ सय ७ जनालाई २१ लाख ९३ हजार ४० रुपैयाँ वितरण गरिएको वडा अध्यक्ष माइलन पूर्जा पुनले बताउनुभयो । गाउँमै पुगेर सेवा दिन थालेपछि बृद्धबृद्धा समेत उत्साहित भएका छन् ।

गाउँपालिका भित्र वडा नं १ देखि ६सम्म गरिमा विकास बैंक र ७ र ९ नं वडामा प्रभु विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । अशक्त , जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर आगामी दिनमा समेत भत्ता वितरण गर्न बृद्धबृद्धाले अनुरोध गरेका छन् । गाउँघरबाट बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि विगतमा समेत वडामै पुगेर सेवा दिने गरिएको वित्तिय संस्थाले जनाएको छ।

वडाबाट शाखासम्म आउँदा लाग्ने समय, यातायात सहित अन्य खर्च बचत भएको भन्दै बृद्धबृद्धा समेत उत्साहित भएका छन्। भत्ताको लागि आफूले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने नाममा रकम सम्बन्धित ब्यक्तीको हातमा नपुग्ने अवस्था भएकाले वडामै पुगेर वितरण गर्दा प्रभावकारी देखिएको छ । अन्नपूर्णमा शाखा रहेको गरिमा विकास बैंक र प्रभु बैंकले समेत जनप्रतिनिधिको साथ र सुरक्षाको ब्यवस्था भएमा हरेक भत्तालाई वडामै पुगेर वितरण गर्न सकिने जनाएको छ।

Leave a Reply