बेनी नगरपालिका-५,पुलाचौरस्थित पुलाडाँडामा अवस्थित पौलस्त्य पुलहाश्रम क्षेत्रमा भारत हुदै आएका हिन्दु धर्मालम्बीले दर्शन गरेका छन् । नेपालका मुख्य तिर्थस्थलको दर्शनका लागि आएका भारतीय र बंगलादेशीको एक समुह गलेश्वरधामको दर्शन गरेपछि पदैलमार्ग हुनै पुलहाश्रम पुगेर फर्किएका छन् ।

रामायणमा वर्णन गरिएका वीर, पराक्रमी र तत्कालीन अवस्थाका महान् वैज्ञानिक रावणको जन्म भएको भनेर श्रीमद्भागवत महापुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको स्थलमा जाने भन्दै गलेश्वरबाट हिडेको समुह अलमलमा परेपछि स्थानीयको सहयोगमा पुलहाआश्रम पुगेका थिए । गलेश्वरबााट पैदलमार्ग हुदै आएको टोली जम्रेनीमा अलपत्र परेपछि स्थानीय यूवा अजयराज खत्रीको सहयोगमा पुलाआश्रमसम्म पुगेर फर्किए ।

पुलाआश्रममा पुगेको टोलीले पौलस्त्य क्रृषिले हबन गरेको स्थल सहित त्यहाँको धार्मिक महत्व सहितका बारेमा बुझेका थिए । ‘बाटोमा अलमल परेपछि मैले घाँसदाउरा गर्ने छोटो रुट हुदै पुलहाआश्रमसम्म पुग्ने रुट देखाए,‘सामान्य सूचना दिने मार्ग समेत नभएको भन्दै चासो देखाएका थिए’ स्थानीय खत्रीले भने ।

उनले यहाँका स्थानीयलाई भन्दा दर्शन गर्न आएकालाई पुलहआश्रमका बारेमा धेरै जानकारी रहेको समेत बताए । टोलीले विश्वभर रहेका हिन्दुको पवित्र तीर्थस्थलमध्येको एउटा महत्वपूर्ण तीर्थस्थल पौलस्त्य आश्रममा जाने समान्य पदमार्ग समेत नहुदाँ चिन्ता लागेको बताउँदै बाटोमा सूचना दिने बोर्ड, पैदलमार्ग भएमा दक्षिण भारत हुदै धेरै धर्मालम्बीहरु आउने बताएको स्थानीयको भनाई छ ।

तिर्थयात्रीका अनुसार भारत, बंगलादेश, भुटान,श्रीलंकामा लङ्काका राजा रावणको नेपालसँग सम्बन्ध रहेको चर्चा भएपनि आउन नसकेको अवस्थामा अहिले अवसर मिलेको बताएका थिए । धार्मिकस्थलको दशर्नका लागि आएको टोलीलाई आवश्यक पदमार्गको अभावमा घाँसदाउरा गर्ने जोखिम मार्गबाट आवतजावत गर्ने वातावरण बनाउनुपरेको भन्दै स्थानीयले धार्मिकस्थल गलेश्वरबाट राउवडा,जम्रेनि, कपिलाआश्रम तिनमाने हुँदै पुलाआश्रमसम्म पुग्नेगरी ब्यवस्थित पदमार्गका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराएका छन् ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्रलाई विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरु क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।

सत्ययुगमा पुलह र पौलस्त क्रृषिले यहाँ तपस्या गरेर हवन गर्न लागेको समयमा पानी पर्न थालेको र क्रृषिद्वयले देवताहरुका राजा इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र पानी पार्न भनेपछि धेरै समयपछि मात्र पानी परेको कुरा शास्त्रमा वर्णन गरिएको छ । म्याग्दीमा पर्यटनको क्षेत्रमा पूर्वाधार विस्तारका बारेमा चर्चा हुने गरेपनि विश्वमै चिनिएका धार्मिकस्थलसम्म जाने पदमार्ग समेत नबन्दा विदेशी तिर्थयात्रीहरु समेत अलपत्र पर्ने गरेका छन् ।

 

Leave a Reply