---Advertisement---

भिसामा कठिनाइ बढेपछि अस्ट्रेलियन सांसदसामु शैक्षिक परामर्शदाताको गुनासा

On: July 31, 2022 8:16 AM
Follow Us:

उच्च अध्ययनका लागि अस्ट्रेलिया रोज्ने र खोज्ने नेपाली विद्यार्थीहरूको भिड बढ्दा पछिल्ला दिनमा भिसा प्रक्रियामा निकै कडाइ गरिएपछि शैक्षिक परामर्शदाता तथा शैक्षिक उद्योगीहरू अस्ट्रेलियन राजनीतिज्ञसँग समस्या राखेका छन्।

नेपाली विद्यार्थीहरूको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदै गर्दा यस पेशामा जोडिएका नेपालीमूलका व्यवसायीहरू शुक्रबार न्यु साउथवेल्स संसद भवनमा लेबरका सांसद तथा छाया मन्त्री स्टेफन काम्परलाई भेटेर आफ्ना गुनासा र समस्या राखेको परार्मशदाता बद्री बरुवालले बताए ।

‘हामीले सम्रग अवस्थाका बारेमा जानकारी गराएका छौ,‘नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिव्यक्तिहरू सार्वजनिक भएका छन्,‘भ्रामक अभिब्यक्तीले सम्बन्धमा असर नगरोस् भन्नेमा सबैको चिन्ता हो’ शैक्षिक परामर्श केन्द्र स्टुडेन्ट भाइब्सका सञ्चालक बरुवालले भने । टोलीले लिबरलका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेलाई समेत भेटेका थिए ।

एनआरएनका उपमहासचिव गणेश केसीको संयोजनमा गरिएको भेटघाटमा शैक्षिक परामर्शदाताहरूको संगठन एकाका अध्यक्ष भूपाल सिटौला, शैक्षिक उद्योगीहरू राज खनाल,भिम खरेल, प्रेम सापकोटा, शैक्षिक परामर्शदाता सूर्य खनाल, भरत देवकोटा, शिशिर नेपाल लगायत डेढ दर्जन व्यवसायीको उपस्थिति थियो। लेबरका प्रभावशाली सांसद स्टेफनले नेपाली समाज अस्ट्रेलियामा तीव्र रूपमा फैलिँदै गएको समाज रहेको भन्दै पछिल्ला दिनमा देखिएका समस्याका विषयमा आफूले सक्दो सहयोग प्रतिवद्धता जनाएका थिए । सेतोपाटीबाट साभार