राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् नेपाली बैज्ञानिक महावीर पुनले गृहजिल्ला म्याग्दीबाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी बन्ने संकेत गर्नुभएको छ ।

आविष्कारको क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका पुनले गाउँपालिकाले पर्यटनको क्षेत्रलाई बेवास्ता गरेको अवस्थामा गाउँपालिकाको नेतृत्वमै आउने भन्दै आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार,गण्डकी रत्नबाट सम्मानित पुनको घोषणाले अन्नपूर्णबासी उत्साहित छन् ।

बेतारे इन्टरनेटबाट नाँगी हुदैं उत्तरी म्याग्दीमा इन्टरनेट सुविधा विस्तार गरी डिजिटल अभियानमा प्रवेश गर्नुभएका डा. पुनको सक्रियतामा अन्नपूर्ण क्षेत्रमा सामुदायिक लज, टेलिमेडिसिन सेन्टर स्थानीय विद्यालयको आयआर्जनका लागि चौरीपालन, चिज उद्योग सहित विभिन्न आयमुलक कार्यहरु समेत गर्नुभएको छ । स्थानीय तहको निर्वाचनपछि डा. पुनको अभियानमा स्थानीय तहले बेवास्ता गरेको छ ।

सामुदायिक लज, चौरीपालन, चिज उद्योग सहित अन्य आयमुलक क्षेत्रका साथै पर्यटनको विकासका लागि उहाँको भिजनलाई स्थानीय जनप्रतिनिधिले कार्यान्वयनमा चासो नदेखाएको अवस्थामा सामाजिक सञ्जालबाटै उम्मेदवार बन्ने घोषणाले तरंग फैलिएको छ । पुनले आविष्कार केन्द्रको पहिलो अभियान समेत म्याग्दीबाटै सुरु गर्नुभएको थियो ।‘प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र आवश्यक परे उठिन्छ पनि’ उहाँले लेख्नुभएको छ । म्याग्दीबाट डा. पुन स्थानीय, प्रदेश र संघीय जुनै निर्वाचनमा उम्मेदवार बनेपनि राजनीतिक दलका उम्मेदवारलाई हम्मेहम्मे पर्ने निश्चित जस्तै छ ।

 

Leave a Reply