तत्कालिन रुम गाउँ पञ्चायतको पञ्चायत घर, दशैंको रमाइलो माहोल । एउटा सानी नानी छमछम नाचिन । गाउँलेले अड्कल काटे- नेवार साहुको छोरी, म्यानेजर साहेबकी छोरी । तर त्यो केटीको भेषमा सानी नानी नभइ सानो केटो थियो, जसको नाम थियो-सञ्जय कुमार श्रेष्ठ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा सञ्चालन हुने वर्षे नाँचहरुमा नागिनी नाच्ने, हार्माेनियम र तवला बजाउने, मन्दिरहरुमा भजन गाउने, राजारानी सवारी हुदा स्वागत गीत गाउने लगायत सांगीतिक फाँटमा लगाव भएका बुबा लक्ष्मीप्रसाद श्रेष्ठले बत्तीस सालमा हार्माेनियम बोकेर रुम पु¥याए, त्यहि हार्माेनियम सञ्जय श्रेष्ठको लागि वरदान सावित भयो।

स्वर्गीय पिता–माता लक्ष्मीप्रसाद र पुतलीदेवी श्रेष्ठको कोखबाट ५ छोरा र १ छोरीमध्ये जेष्ठ सुपुत्रको रुपमा २०२१ माघ २१ गते बेनीमा जन्मेका श्रेष्ठ १५ वर्षकै कलिलो उमेरमा तत्कालिन राष्ट्रिय निमावि रुममा शिक्षण पेशामा आबद्ध भएका थिए । बुबाको संगीतप्रेमबाट प्रभावित भै विद्यालय र विशेषतः दशैं मेला लगायतका कार्यक्रमहरुमा नाँच सिकाउने, हार्माेनियम बजाएर गीत गाउने गर्दै श्रेष्ठ हार्माेनियम, मादल र तबला बजाउन पोख्त बनेका थिए ।

पैचालिस सालतिर स्वर्गीय ओमबहादुर बोगटीको आग्रहमा तत्कालिन लोकदीप बोर्डिङ स्कूलमा अध्यापन गर्न बेनी झरेपछि उनको सांगितिक क्षेत्र झन फस्टाउने मौका पायो । विद्यालय, म्याग्दी युथ क्लव र म्याग्दी पुस्तकालयका लागि गरिने भैली होस् या दशैं चाडमा कालरात्री जगाउन उनको सक्रियता र नेतृत्वदायी भूमिका रह्यो । विद्यालयबाट जिल्ला स्तरका लोकनृत्य प्रतियोगितामा सधैं प्रथम स्थान हासिल गर्थे ।

तत्कालिन राजारानी वीरेन्द्र–ऐश्वर्यको सवारीमा होस् वा युवराज्ञी हेलन शाहको सवारीमा, स्वागत गीत रचना गरी गाउने मौका पाएका श्रेष्ठ फोटो बनाउन, चित्र बनाउन र साइनबोर्ड लेख्न समेत पोख्त भएकाले व्यवसायको रुपमा सञ्जय फोटो स्टुडियो (हाल बेनी डिजिटल कलर ल्याव) र वेलकम आर्टस् सञ्चालन गरेका थिए । मादल बजाउन पोख्त प्रदिप श्रेष्ठसँग प्रकाश मावि लगायतका कलाकार नचाएर जिल्लादेखि पश्चिमाञ्चलसम्म उत्कृष्ट भै म्याग्दी जिल्लाको नाम राख्न सफल भएका थिए ।

तत्कालीन पञ्चायत शासनको दवदवा रहेको अवस्थामा नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ लगायतका युवा नेताहरुसंग साथमा साथ मिलाएर नरबहादुर पुनलाई जिताउन हार्माेनियम बजाउदै “सुन्तलाको रस–मादलमा भोट हाले आउँछ म्याग्दी बस” भन्ने गित गाएर पञ्चायत विरुद्ध प्रचारप्रसार अभियानमा सक्रिय भएका थिए ।

२०४६ सालको जनआन्दोलन पछि दलहरुको हरेक संयुक्त सभामा स्वागत गित प्रस्तुत गरेका श्रेष्ठले सांस्कृतिक संघको अध्यक्ष सम्हाल्दा होस् या पुर्व पदाधिकारी रहदा प्रकाश कुमार श्रेष्ठ, धनकुमारी थापा, अजय मिलन श्रेष्ठ लगायतका कलाकारहरुसंग मिलेर सांस्कृतिक प्रस्तुति दिदै जनचेतना सहित नेपाली कांग्रेसको लागि राजनैतिक माहोल सिर्जना गर्न योगदान पु¥याएका थिए ।

म्याग्दी जिल्ला बेनीबजारका कलाका धनी सूर्यनारायण श्रेष्ठ लगायत अग्रजहरुको वार्षिक स्मृतिमा निकालिएको बास्सा कार्यक्रमा गायन तर्फ कलाकारहरुको अगुवाई गरेका श्रेष्ठले २०४९ सालमा म्याग्दी बहुमुखि क्याम्पसको प्रथम वार्षिकोत्सवमा सांस्कृतिक संयोजकको भुमिका निभाउनुका साथै फेवा टेलिभिजन, पोखराबाट आयोजित म्याग्दी जिल्ला स्तरिय लोकसंस्कृति झल्कने स्थानीय लोक .नृत्य प्रतियोगितामा म्याग्दी जिल्लाको संस्कृतिबिद बनि निर्णायकको भूमिका निभाएका थिए ।

काठमाडौंमा सांस्कृतिक साँझ सम्पन्न गरि पाँच लाख भन्दा बढीको अक्षय कोष स्थापना गर्न सफल श्रेष्ठले २०५५ सालमा नेपाली कांग्रेसका उम्मेदवार कर्नेल नारायणसिं पुनको प्रचारप्रसारका लागि एल्बम नै निकालेका थिए । पत्नी सानुहरी जोशी श्रेष्ठ र तीन छोरीहरु सदिच्छा–राजन, शुभ–सुमन र मौनताका धनी श्रेष्ठले जागिर र व्यवसायलाई निरन्तरता दिदै सांगितिक क्षेत्रलाई समेत सँगसँगै अगाडि बढाएका छन् । श्रेष्ठले बेनी बजारको लाखे, गठेमंगल, घोडा, रोपाई, जोगी, भोटे, नागा नागिनी (सापारु) लगायतका वर्षे नाँच, हनुमान नाँच, होली पर्व, भजन किर्तन संरक्षणमा उल्लेखनीय भूमिका खेलेको पाईन्छ ।

मंकाः खलः बाट देशका विभिन्न स्थानमा लाखे र नागानागिनी नाँच प्रतियोगितामा सहभागीता जनाउन सक्रिय रहेका श्रेष्ठले मंकाः खलः मार्फत नै युवा पुस्तालाई बाद्यबादन प्रशिक्षण दिएका थिए । आफ्ना भाईबहिनीहरु अजय मिलन, हृदय, सुनिता, धनञ्जय, विनय र सन्ततीहरुलाई समेत सांगीतिक र साहित्यिक क्षेत्रमा लाग्न प्रेरणाका श्रोत बनेका श्रेष्ठले सांगीतिक यात्राकै क्रममा म्याग्दीका अग्रज कलाकारहरु वीरबहादुर कार्की, धनकुमारी थापा, प्रदिप श्रेष्ठसँग ’रेल पुग्यो बम्बैैमा” र ’भेट भयो सलल नामक लोकदोहोरी गीति एल्बम निकालेका थिए ।

समय परिवर्तनसँगै उनले मृगेन्द्र रावत, प्रमोद श्रेष्ठ, महेश श्रेष्ठ, अम्बिक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुजन पुर्जा पुन र प्रेम थापा लगायतका साथीहरुलाई समाहित गरी “दोभान“ नामक म्याग्दी कै पहिलो पप–ब्याण्ड स्थापना गरी अधिकांश गीत आफै रचना गरेर “पहिलो नजर“ नामक पप–एल्वम पस्केका थिए ।

त्यसको लगत्तै रोशन शेर्पाको स्वर र चन्द्रकुमार के.सी. को प्रस्तुतिमा गीति एल्बम “जिस्की नहिडै” श्रोता माँझ प्रस्तुत गरेका थिए, जस्को गीतहरु आफै रचना गरेर संगीत भरेका थिए भने एउटा गीत सहोदर भाइ धनञ्जय कुमार श्रेष्ठको समावेश गरि हौसला दिएका थिए । म्याग्दी काली एफएममा बज्ने जिङ्गल “धौलागिरि हिमाल झै .. ” समेत रचना गरेका श्रेष्ठका ३०० भन्दा बढि प्रकाशित र अप्रकाशित गीतहरु रहेका छन् ।

४४ वर्ष शिक्षण पेशामा समर्पित र हाल बेनी बोर्डिङ सेकण्डरी स्कूलमा अतिरिक्त शिक्षणलाई निरन्तरता दिएका श्रेष्ठले “साहस” पुस्तक प्रकाशनलाई निरन्तरता दिदै म्याग्दी सामुदायिक पुस्तकालय, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी ईन्टरनेशनल, नेपाल सांस्कृतिक संघ लगायतका संस्थामा अध्यक्ष बनेर नेतृत्वदायी भूमिका निभाएका थिए। नेपाल बाल संगठन, नेपाल शिक्षक संघ, श्री लक्ष्मी नारायण मन्दिर विकास समिति, सुर्यनारायण पुरस्कार संस्था, नेपाल आर्टिष्ट एसोसियिन पोखरा, पश्चिमाञ्चल क्षेत्रीय सदस्य लगायतका संस्थामा संलग्न रहेका श्रेष्ठ हाल बेनी बचत तथा ऋण सहकारी संस्थामा उपाध्यक्ष, भाजुदेव प्रतिष्ठानमा उपाध्यक्ष र नेपाल भाषा मंकाः खलः अन्तर्गतको सांस्कृतिक उप– समितिको संयोजक रहेका छन् ।

साथै पुराना गीत संगितलाई अग्रज कलाकार होस् या आफै गायर तथा बेनीबजारका पूराना लोक संस्कृति एवम् वर्षे नाँचहरुलाई युट्युवमा राखि जगेर्नाको पहलकदमी गरेका छन् ।आफ्नो समयमा उत्कृष्ट भलिवल र हेण्डबल खेलाडी बनेर दर्जनौं शिल्ड, कप र पुरस्कार जितेका साथमा जीवनको चार दशकभन्दा बढि समय गीतसंगीतमा खर्चेका श्रेष्ठ लोकनृत्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाउदै आइरहेका छन् । यस अघि “ सम्मान र ताली “ लघुकथा संग्रह प्रकाशन गरेका श्रेष्ठको “तिम्रै यादमा“ गीति संग्रह दोस्रो कृति हो । उनको लेखनमा कहिल्यै पूर्णविराम नलागोस् – शुभकामना !

Leave a Reply