लगातारको वर्षातका कारण म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ भन्ने गाउँमा पहिरोमा वेपत्ता भएकाको खोजीकार्यमा समस्या भएको छ । गएराती बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहिन भएका एकै परिवारका तीनजनाको खोजीकार्यमा समस्या भएको खोज तथा उद्धारमा खटिएको टोलीले जनाएको छ ।

‘भिषण बर्षाले बेपत्ताको खोजीमा समस्या भएको छ,‘उद्धारका लागि आइरहेको टोलीलाई समेत बाटोमा समस्या भएको छ’ घटनास्थलमा रहनुभएका वडा सदस्य भक्ती बहादुर घर्तीले बेनीअनलाइनलाई भन्नुभयो । तामेङ गाल्टा आसपासका क्षेत्र हुदै उद्धारका लागि स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेपनि उद्धारमा समस्या भएको वडा सदस्य घर्तीको भनाई छ ।

पहिरोमा घाईते भएका गोठे र गोरी विकलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको छ। पहिरोस्थलबाट घाईते अवस्थामा उद्धार गरिएकालाई थप उपचारका लागि पठाउन समेत बर्षा बाधक बनेको छ । ‘घरका सबै निन्द्रामा थिए, बेपत्ता पनि पहिरोमै पुरिएको हुनसक्छ’ उद्धारमा खटिएको टोलीले भन्यो ।जनजाति र दलितको बसोबार रहेको बस्तीको दुई घर पहिरोले पुरेको थियो ।

निरन्तर पहिरो खसिरहेको अवस्थामा समेत उद्धारमा खटिएको टोलीले पहिरोस्थलबाट नविन र रुजन विकको शब निकालेका छन् । घरमुली घामबहादुर विक,राजु विक र रोजी विक अझैं सम्पर्कमा आएका छैन। सम्पर्कविहिन भएका समेत पहिरोमा पुरिएको आशंका गरिएको छ । वेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयलाई घटनास्थल पठाएको भएपनि अहिलेसम्म पुग्न सकेको छैन् । लगातार दुई दिन देखि परिरेहको बर्षाले पश्चिम म्याग्दीको जनजिवन अस्तब्यस्त भएको छ ।

Leave a Reply