म्याग्दी म्याग्दीको मालिका गाउँपालिका-२, रुमको तामेङ गाउँमा निरन्तरको बर्षासँगै पहिरोको जोखिमका बारेमा दाई बीरबहादुरले जानकारी गराएपछि घामबहादुरले भैसी ब्याएपछि सर्ने योजना बनाएका थिए । एक सातादेखि वीरबहादुर विकले माइला भाइ घामबहादुरलाई घर छाड्न सुझावलाई उनले परिवारसँग समेत छलफल गरेका थिए । वीरबहादुरका चार दाजुभाइमध्ये २ जनाको घर माथि थियो भने २ जनाको घर केही तल।

जेठा वीरबहादुर र माइला घामबहादुर गाउँमै थिए। साइला भाइ पोखरा र कान्छा रोजगारीका लागि साउदी छन्। गतबर्ष वडाकै बेली भन्ने गाउँमा पहिरो खसेजस्तै जोखिम रहेको जानकारी दाईले गराएको भन्दै घामबहादुरले समेत परिवारलाई नै लिएर बर्खाको समयमा घर छोडेर जाने तयारी गरिरहेको अवस्थामा पशुचौपायाको ब्यवस्थापनले अड्किएको बिरबहादुरले बताए । पहिरोले भैंसी जोगिएको छ भने एउटा खच्चड मरेको र एउटा घाइते भएको छ।

पहिारो खसेको स्थान आसपासका क्षेत्रमा पानी धेरै परेको र माथिल्लो क्षेत्रमा जमिन समेत कमजोर रहेको बताएको एक साता नवित्दै पहिरो खसेको छ ।‘सर्छु त भनेको थियो तर भैंसी ब्याउन लागेछ भनेर सरेन, राति यस्तो भयो’ बिरबहादुरले भने । घामबहादुरको घरको बाटो भएर बर्खाको भेल बगेको देखेर नै वीरबहादुरले माइला भाइ घामबहादुरलाई आफ्नो घरमा बस्न बोलाइरहेका थिए।

‘घर माथिबाट झरेको पहिरोले परिवरकै नाम निसाना मेटाइदियो,‘अझै पनि यो ठाउँमा जोखिम छ’ बिरबहादुरले भने । घर नजिकै भएकाले दाजुभाइको सोमबार साँझ पनि भेटेर घर छोड्न सुझाव दिएका थिए ।
रातभरि ग्रागीबाट पानी घोप्टाएजस्तै वर्षा भएपछि सुतिरहेको अवस्थामा नै पुरेको थियो ।

पहिरोले पुरिएर ३६ वर्षीय घामबहादुर, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नविन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मीको मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका सोही गाउँका ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विकलाई थप उपचारका लागि पोखरा ल्याउने प्रयास सफल हुन सकेको छैन।

घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाए पनि मौसम खराब भएकाले उड्न नसकेको गाउँपालिकाले जनाएको छ । पहिरोमा परेर आफूसहित पूरै परिवार गुमाएका घामबहादुरले करिब ११ वर्ष खाडी मुलुकमा काम गरेका थिए।कतार र साउदी अरबमा काम गरेर २ वर्षअघि मात्र नेपाल फर्केर उनले खच्चड पालेका थिए।

Leave a Reply