विकाससंग जोडिएपछि उज्यालिदै छ ऐतिहासिक स्थल ज्यामरुककोट

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको इतिहाँस १५ औं शताब्दीको विरासतसंग जोडिएको छ ।
करिब ६ सय वर्ष पुरानो इतिहाँसको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहाँसिक, खड्गभवानी कोत पुरातात्विक र पर्यटकीय महत्वले समेत जिल्लाकै महत्वपूर्ण कोत मानिन्छ ।

समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा संचारको विकासको उज्यालो छिरेपछि बल्ल जिल्लाकै महत्वपूर्ण ऐतिहाँसिक स्थल उज्यालिदै छ ।
१५ औें शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्धेश्यले गण्डकी प्रदेश,बेनी नगरपालिका, वडा कार्यालय र स्थानीले पुर्वाधार निर्माणमा तिव्रता दिएका छन् ।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्भवानी कोत परिसरका ऐतिहाँसिक सम्पदाहरु विकाससंग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७६÷७७ मा रु २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

यसैगरी गत आर्थिक२०७७÷२०७८ मा नगरपालिकाको पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख विनियोजित बजेटबाट कोत परिसरमा २ सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गीनि निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

त्यसैगरी २०७८÷०७९ मा बेनी नगरपालिका र गण्डकीप्रदेश सरकारको करिव ८ लाखको लगानीमा प्रवेशद्धार सहित पक्की सिंडी निर्माण गरेपछि ऐतिहाँसिक स्थल खड्गभवानी कोत चिटिक्क देखिएको उनको भनाइ छ । यस्तै चालु आर्थिक वर्षमा खड्ग भवानी कोतको विकास र पूर्वाधार निर्माणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट गरी रु ८ लाख बजेट प्राप्त भएको र सो बजेटले कन्थराजथानदेखि कोत परिसर जोड्ने बाँकी पदमार्ग निर्माण गरिनुका साथै फुलपातीदेखि कोत प्रवेशद्धारसम्म पक्की सिंडी निर्माण गर्ने योजना रहेको वडाअध्यक्ष कार्कीले बताए ।

वडाअध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहाँसिक स्थल खड्गभवानी कोत परिसर केवल ऐतिहासिक स्थल मात्रै नभएर प्रशस्तै पर्यटकीय सम्भावना रहेको सदरमुकाम बेनी बजारदेखि नजिकैकै महत्वपूर्ण ठाउँ पनि हो ।
यस ठाउँको महत्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै थप आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सक्ने हो भने यहाँ प्रशस्तै पर्यटकहरु आउनसक्ने प्रवल सम्भावना रहेको अध्यक्ष कार्कीले बताए ।

यस स्थानको विकास र पर्यटन विस्तारका लागि भूतपूर्व वडा अध्यक्ष हिराबहादुर थापा र वर्तमान अध्यक्ष कार्कीको धारणा समान रहेको छ । “भौतिक पूर्वाधार निर्माणसंगै अध्यारोमा रहेको ज्यामरुककोट विस्तारै उज्यालिदै छ,अव खड्ग भवानी कोतको आधुनिक शैलीमा पुननिर्माण गरी प्राचिन सम्पदाहरुलाई सुरक्षित राख्न सक्ने हो भने यो स्थान जिल्लाकै उत्कृष्ट स्थान बन्न सक्छ” पूर्व वडाअध्यक्ष थापाले बताए ।

‘मन्दिरलाई आधुनिक रुपमा पुननिर्माण गरेर आवश्यक पर्यटक लक्षित पूर्वाधार निर्माण गर्न सक्ने हो भने यहाँ धार्मिक मात्र नभएर विदेशी पर्यटकहरु समेत आउन सक्ने प्राकृतिक सुन्दरता छ’ वडाअध्यक्ष कार्कीको भनाइ छ ।पूर्व अध्यक्ष थापाका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरु समेत रहेका छन् ।

अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहाँसिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ ।विक्रम सम्वत १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहाँसिक प्रमाण स्वरुप अझै पनि आकर्षणका रुपमा रहेका छन् ।

पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।ऐतिहाँसिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाअध्यक्ष कार्कीको भनाइ छ । वडाअध्यक्ष कार्कीले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका दर्जनौ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौ ग्रामिण बस्ती देखिन्छ । गुरुयोजनासहित धार्मिक पर्यटकियस्थलको पुर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयबासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीयलाई होमस्टे संचालनमा टेवासंगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरु रहेका स्थानीय समाजसेवी टीकाबहादुर कार्कीले बताए ।

Previous articleपहिरोमा ज्यान गुमाउनेप्रति नेपाली कांग्रेस म्याग्दीद्धारा दुख व्यक्त
Next articleजिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु पड्किएर म्याग्दीका चार यूवा घाईते
धु्रबसागर शर्मा
धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।