म्याग्दीको बेनी-गलेश्वर सडकखण्डमा नम्बरप्लेट नभएको स्काभेटरमाथि चाबी लगाइएको छ । जिल्लाको सुरक्षा निकायका उच्च सरकारी अधिकारीहरुको एक टोलीले सो सडकखण्डअन्तर्गत अनुगमन गर्ने क्रममा नम्बरप्लेट नभएको स्काभेटर मेसिन भटिएपछि चाबी लगाएको हो ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत कालीगण्डकी नदी किनारस्थित फोहोर फ्याँक्ने ठाउदेखि माथि सडकमा विना नम्बरप्लेट र आवश्यक कागजात नबोकेको स्काभेटर भेटिएपछि चेनलक लगाएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा अनुगमन गर्ने क्रममा नम्बरप्लेट नभएको स्काभेटर भेटिएपछि चेनलग गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

प्रजिअ रानाले नम्बरप्लेट नभएको स्काभेटर भेटिएकाले उसलाई ट्राफिक नियमअनुसार कारवाही गरिने जानकारी दिनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको नेतृत्वमा प्रजिअ राना र प्रहरी नायव उपरीक्षक तिलक भारतीसहितको सुरक्षा निकायको टोली बेनी–गलेश्वर सडकखण्डको अनुगमनको क्रममा निस्किएको थियो । नम्बरप्लेट नभएको उक्त मेसिन कुन कम्पनी र व्यक्तिको हो भन्ने समेत खुलेको छैन । उक्त स्काभेटेर मेसिनले कालीगण्डकी नदी किनारबाट बालुवा उत्खनन गर्न सक्ने आशङ्का गरिएको छ ।

यसअघि बेनी नगरपालिकाको कार्यालयले गएको सोमबार एक सूचना जारी गर्दै बेनी नगरपालिकाभित्र कालीगण्डकी र म्याग्दीखोला नजिकै राखिएका एक्साभेटर, जेसिभी, ट्याक्टर, ट्रिपरलगायत मेसिन ३ दिनभित्र हटाउन दिर्नेशन दिएको थियो।

कसैले निर्देशन नमानेमा जिल्ला अनुगमन तथा सुपरिवेक्षण समितिको साउन १४ गतेको निर्णयअनुसार जरिवाना गरिने जानकारी पनि गराइएको छ । यसैबीच म्याग्दी खोलाको बगुवाखोला तथा मंगला, मालिका गाउँपालिका क्षेत्रमा समेत लुकिछिपी अवैध दोहनको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको जनाइएको छ । उक्त क्षेत्रमा उत्खनन् भइरहेको फेला परेमा तत्काल रोक लगाउन समेत निर्देशन दिइएको छ ।

Leave a Reply