म्याग्दीको प्रहरीले प्राकृतिक रुपमा उम्रिएका वा रोपिएका गाँजाहरु बोट धमाधम नष्ट गर्ने अभियान नै चलाएको छ । जिल्लाका सबै स्थानीय तहमा उम्रिएका गाँजाका बोटहरु फँडानी गरी नष्ट गरिरहेको प्रहरीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा वडा नम्वर ७ महभीरमा करिव १ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फँडानी गरी नष्ट गरेको हो । प्रहरी अस्थायी पोष्ट तिप्ल्याङबाट प्रहरी सहायक निरिक्षक भिम बहादुर छन्त्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय समुदायको साझेदारीमा गाँजाका बोटहरु फँडानी तथा नष्ट गरेको जनाएको छ ।

बस्ती वरपर, खेतबारीको छेउछाँउ र हिडडुल गर्ने बाटो नजिक प्राकृतिक रुपमा आफै उम्रिएका पाँच सय वटा गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो समयमा म्याग्दीका विभिन्न स्थानमा सार्वनजनिक ठाउँमा आफै उम्रिएका तथा स्थानीयले खेतवारीमा लगाएका भाङगोलाई समेत युवाहरुले गाँजाको रुपमा प्रयोग गर्न सक्ने भन्दै प्रहरीले नष्ट गर्दै आएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

‘गाँजाले कुलतमा फस्नेको संख्या ह्वात्तै बढेको छ,गाँजाको बोट भेट्दा वित्तिकै नष्ट गर्नुहोस्’ प्रनाउ भारतीले भन्नुभयो । यसअघि गत हप्ता जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्वर ३ सोल्वाङमा पनि करिव १ रोपनी क्षेत्रफलको जमिनमा आफै उम्रिएका एक सय बढि गाँजाको बोटहरु ताकम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीद्वारा फँडानी गरिएको थियो । म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ।

Leave a Reply