कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्थापना गरेको बहुउद्देश्यीय अक्षयकोष सञ्चालन गर्न समिति निर्माण गरिएको छ । संघको बैठकले म्याग्दीको सदरमुकाममा अवस्थित कस्तुरी सहकारीमा रहेको बहु–अक्षयकोष सञ्चालन गर्न समिति निर्माण गरेको हो ।

समितिको संयोजकमा संघका भूतपूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक विक्रम कार्की चयन भएका छन् । समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक प्रेम रसाइली, भूतपूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक रमेश पौडेल, निवर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार तिलु शर्मा पौडेल, सल्लाहकार लीला बहादुर चोखाल र वर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र फगामी पदेन सदस्य रहने गरी ६ सदस्यीय उपसमिति गठन गरिएको हो ।

म्याग्दी जिल्ला भित्र आइपर्ने भवितव्यहरूमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोष सञ्चालन गर्न समितिले संस्थागत योगदानको कदर गर्दै समितिमा अन्य जिल्ला भित्र रहेका थप केही व्यक्तिलाई समेट्दै सशक्त रूपमा अगाडी बढ्ने संयोजक कार्कीले बताए । कार्कीले हाल ११ लाख बराबरको कोष रहेको र त्यसलाई अझै फराकिलो बनाइने बताए । उनले हरेक पटक जिल्ला पिडामा हुँदा कतारमा चन्दा उठाउनु पर्ने बाध्यकारी परिस्थितिलाई यसले अन्त्य गर्ने विश्वास व्यक्त गरे । हामीले कोष ठुलो बनाउँदा ब्याज पनि फराकिलो गरी प्राप्त हुने हुँदा चन्दा समस्या अन्त्य हुने धारणा कार्कीको छ ।

सन् २०१९ बाट अक्षयकोषको लागि मोना कतारले गृहकार्य शुरु गरे पनि २०२१ मा कोषको स्थापना भएको संघका अध्यक्ष नरेन्द्र फगामीले बताए । उनले कोष सञ्चालन समिति मार्फत जिल्लाका हरेक दुखमा मोना कतार पुग्ने प्रतिबद्धता व्यक्त गरे । सन् २००३ मा स्थापना भएको सामाजिक संस्था मोना कतारले जिल्ला तथा कतारमा विभिन्न समस्यामा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।

Leave a Reply