साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न आएकी एक भक्तजनले मन्दिरको डिजिटल दान पेटिकामा नगद १ लाख ५ रुपैयाँ दान गरिन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ घर भई हाल ब्यवसायीको सिलसिलामा यूएईमा बस्ने जरीना क्षत्रीले आफ्नो छोरा अजलालको स्वास्थ्य लाभको कामना गदैं मन्दिर परिसरमा दान तथा भेटीहरु संकलन गर्न राखिएको क्युआर कोडको प्रयोग गरी सहयोग गरिन् ।

मन्दिरको दर्शनपछि वित्तिय संस्थामा पुगेर नगद ल्याई सहयोग गर्ने सोच बनाएकोमा डिजिटल दान पेटिका देखेपछि क्यूआरबाट स्क्यान गरी दान गरेको उनले बताईन् । ‘यो सेवा निकै सहज लाग्यो, धेरै नगद बोक्दा हराउने डर हुन्छ,‘मैले विदेशबाट पनि बेलाबेलामा दान गर्न सजिलो माध्यम बनेको छ’ उनले भनिन् ।

डिजिटल दान गर्ने सुविधाले विदेशमा रहेका भक्तजनलाई समेत आफ्नो भाकल अनुसार दान गर्न सजिलो हुने उनले बताईन्। मन्दिरको प्रवेशद्धारदेखि मुख्य मन्दिर आसपासका क्षेत्रसम्म माछापुच्छ्रे बैंकले क्यूआर सुविधा रहेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने राखिएको सेवाले डिजिटल बैंकिङ सेवाको प्रयोग गर्नेलाई सहज भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले विदेशमा रहेका भक्तजनले समेत सिधै मन्दिरको क्यूआरबाट स्क्यान गरी दान गर्न थालेको बताए । ‘यो सुविधाले भौतिक रुपमा उपस्थित नभएका भक्तजनलाई समेत सहज भएको छ,‘हामीले थप ब्यवस्थित गर्ने तयारीमा छौ’ अध्यक्ष रेग्मीले भने । यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन् ।

बैंकले गलेश्वर मन्दिर बाहेक प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्ड, महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा समेत राखेको छ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको शाखा प्रबन्धक यादव आचार्यले बताए । उनले वित्तिय साक्षरता कार्यक्रममार्फत सेवाग्राहीलाई समेत जानकारी गराउने गरी थप योजना बनाइएको बताए । क्यूआरबाट स्क्यानमा बैंकले सम्बन्धित संस्थालाई समेत सहयोग गर्ने योजना बनाएको छ ।

Leave a Reply