भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा प्राकृतिक प्रकोपजन्य समस्याहरुः भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा बर्षेनी ठुलो धनजनको क्षति हुने गरेको छ ।

भिरालो जमिन, कमजोर भू–वनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामिण सडक विस्तार, परापुर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनु जस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश वस्तिहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ ।

लामो समयदेखि म्याग्दीमा कार्यरत मिश्रका अनुसार म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।

क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग कि.मि. ओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी बर्षा, भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिईदै जानु, भिरालो पाखाहरुमा रहेका ठुला रुख प्रजातीका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धांजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको पाईन्छ ।

त्यसैगरी यो जिल्लालाई नदि प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेका छन् । जिल्लाबाट बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको छ ।

जसअनुसार अन्नपुर्णा गा.पा.बाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गापाबाट ३ लाख ५० हजार ४ सय ६८ दशमलव १० टन, वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन, मंगला गापाबाट ३३ हजार ४ सय ६६ टन, मालिका गापाबाट १ लाख ३ हजार २ सय ३० टन, धवलागिरी गापाबाट ८ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षबाट २ लाख ४५ हजार ८ सय ८६ टन प्रति बर्ष माटो विभिन्न खोलानाला हुदै बगिरहेका छन्।

भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको कार्यक्षेत्र रहेका म्याग्दी जिल्लालाई हाल आएर ४२० वर्ग किमिदेखि १७३ वर्ग किमिको विचमा रही ७ वटा उप–जलाधार क्षेत्रमा विभाजन गरी प्राथमिक्ता निर्धारण गरिएको छ जसअनुसार १) ढोरखोला (ढोरपाटन शिकार आरक्ष र धवलागिरी गापाको केही भाग), २) म्याग्दीखोला–१ (धवगागिरी गापा), ३) म्याग्दीखोला–२ (धगापा. र रघुगंगा गापा), ४) राहुघाट खोला (रघुगंगा गापा), ५) म्याग्दीखोला–३ (वेनी नपा, मंगला गापा, मालिका गापा), ६) कालीगण्डकी नदि (अन्नपुर्णा गापा) र ७) मिरिस्ती खोला (अन्नपुर्णा गापा) रहेका छन् ।

अन्तमा जिल्लामा बर्षेनी आईपर्ने बाढी, पहिरो तथा नदिजन्य समस्याहरुलाई सामाधान गर्न ग्रामिण सडक निर्माण गर्दा सडकपाखो संरक्षण, अनियन्त्रित रुपमा वग्ने भलपानीको उचित व्यवस्थापन गर्नुका साथै प्रत्येक स्थानिय निकायले आ–आफनो क्षेत्रमा रहेका जोखिमयुक्त वस्ति, गल्छी, पहिरो, खोला किनार कटानी क्षेत्र, नदि उकास जग्गा र क्षतिग्रस्त भूमिहरुको पहिचान गरी सोको प्रोफाईल तयारी गरी प्राथमिक्ता अनुसार संरक्षण गर्दै जानुपर्ने देखिन्छ ।

मिश्र भू तथा जलाधार व्यवस्थापन कार्यालय सम्पर्क इकाई म्याग्दीका भू–संरक्षण अधिकृत हुन ।

Leave a Reply