बेनी नगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर नियमित स्वास्थ्य चेकजाँच सुरु गरेको छ । ज्येष्ठ नागरिकलाई घरैमा उपचार सेवा दिने कार्यक्रम अन्तर्गत घरैमा पुगेर वडाका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका छन् ।

नगरपालिकालको निर्णय अनुसार नगरभित्रका १० वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीको टोलीले सेवा दिने कार्य सुरु गरेको बेनपा–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । ‘घरघरमा स्वास्थ्यकर्मी पुगेपछि बृद्धबृद्धा उत्साहित हुनुहुन्छ,‘जनप्रतिनिधिले समेत आवश्यकता अनुसार सहयोग गरिएको छ’ वडा अध्यक्ष केसीले भन्नुभयो।

त्यस्तै बेनपा–४ मा समेत घरदैलोमा पुगेर जेष्ठ नागरिकको सेवा दिइएको वडा अध्यक्ष भगवान खड्काले बताउनुभयो । वडाभित्रका सबै ज्येष्ठ नागरिकलाई घर–घरमै पुगी स्वास्थ्य सेवा उपलब्ध गराइने अध्यक्ष खड्काको भनाई छ । स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने गरेको अवस्थामा घरदैलोमै सेवा पाएपछि उत्साहित भएको बेनपा–९ का जेष्ठ नागरिक चक्रबहादुर खड्काले बताउनुभयो । बेनी नगरका प्रमुख सुरत केसीले पदभार ग्रहण गरेपछि स्वास्थ्य सम्बन्धि तीन निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त प्रतिबद्धता अनुसार प्रत्येक महिनाको १५ गते ४५ वर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिङ क्याम्प र ज्येष्ठ नागरिकलाई घरदैलोमा सेवा दिने काम सुरु भइसकेको छ भने विपन्नलाई निशुल्क स्वास्थ्य बीमाको प्रक्रिया अगाडी बढेको छ । नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछाने र प्रबक्ता रमेशकुमार श्रेष्ठ सहित कार्यपालिकाका सदस्यले उक्त निर्णयको कार्यान्वयनमा सक्रिय भएपछि प्रतिबद्धता अनुसार सेवा प्रवाहमा सहज भएको स्वास्थ्यकर्मीको भनाई छ ।

Leave a Reply