म्याग्दीको बेनी नगरपालिका-५, गाजनेमा अवस्थित जगन्नाथधाम (मन्दिर) परिसरमा पुष्परोपण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले एक समारोहबीच पुष्परोपण गरेको हो ।

श्रावण शुक्लद्वादशी तिथिका दिन आयोजित भगवान् जगन्नाथको रथयात्रा गराउने कार्यक्रमको अवसरमा मन्दिर परिसरमा पुष्परोपण गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानले जनाएको छ । मन्दिर परिसरमा फुल तथा फलफुलका विरुवाहरु तुलसी, लालुपाते, दालचिनी, कागती, लिची, गणेश फुल, गुलाब, कल्कीफुललगायत रोपिएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि आईको डिस्ट्रिक चिप सुनिता केसीले बताउनुभयो ।

मन्दिर परिसरमा आयोजित पुष्परोपण कार्यक्रमको रथयात्रा कार्यक्रमका प्रमुख वाचक पण्डित दण्डपाणि शर्माले फलफुलका विरुवा रोपेर शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा क्लबले जगन्नाथ मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै मन्दिरका दुईजना पुजारी गंगादत्त शर्मा र यामलाल सुवेदीलाई पुजारी पोशाक सहयोग गरेको छ । यसैगरी जगन्नाथ मन्दिरलाई नगद २५ सय ९५ र जगन्नाथ आमा समूह तथा युवा क्लबलाई जनही दुईहजार रुपैयाँको दरले आर्थिक सहयोग गरेको थियो ।

सोही अवसरमा क्लबले पर्यटकीय क्षेत्र केभहिलमा पनि वृक्षारोपण गरेको जनाएको छ । केभहिलमा आयोजित वृक्षारोपण कार्यक्रमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वृक्षारोपण गरी उद्घाटन गर्नुभएको थियो । लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष कमला जिसीको अध्यक्षता र स्वागत तथा सहसचिव अम्बिका ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्मा र पत्रकार प्रताप बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । लायन्स क्लबले यसअघि बेनी–दरबाङ सडकखण्डअन्तर्गत बगुवाखोला आसपास क्षेत्रमा पनि वृक्षारोपण गरेको थियो ।

Leave a Reply